वर्षा र पहिरोले सडक सञ्जाल प्रभावित

यी राजमार्ग पूर्ण अवरुद्ध


२०८३ भदौ २२ सोमबार ०८:४९ बजे
फाइल फोटो

काठमाडौं : अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। केही प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न सडकखण्ड अझै प्रभावित छन्। धादिङको कृष्णभीर तथा चालिसे क्षेत्रमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यसैगरी, मुगुको मुगु–गमगढी सडक, रोल्पाको सहिद राजमार्ग, कालिकोट र सुर्खेतका कर्णाली राजमार्ग तथा सल्यानको राप्ती राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।

मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चामा अविरल वर्षापछि ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि मुगु–गमगढी सडक अवरुद्ध भएको हो। रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोरमा पहिरो खसेपछि सहिद राजमार्ग पनि बन्द भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा लेदोसहितको पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसे क्षेत्रमा पनि कर्णाली राजमार्ग बन्द रहेको छ भने सल्यानको कपुरकोट गाउँपालिका–४ आरिङ्गाले फेदीमा पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ।

प्रहरीका अनुसार कतिपय सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ भने केही सडकमा जोखिमका कारण सवारी सञ्चालनमा समय तथा अन्य प्रतिबन्ध लगाइएको छ। लगातारको वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भएकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र यात्रा अघि सडकको पछिल्लो अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७