देशका विभिन्न राजमार्ग प्रभावित, धादिङ र कालिकोटमा सडक पूर्ण अवरुद्ध


२०८३ भदौ २१ आइतबार ०७:३३ बजे
फाइल फोटो

काठमाडौं : अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार धादिङ, कालिकोट, मुगु, रोल्पा र रसुवाका केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ललितपुर र धादिङका केही स्थानमा एक लेनबाट यातायात सञ्चालन भइरहेको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। गजुरी गाउँपालिका–२ चालिसेमा सडक माथिबाट पहिरो खसेपछि पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। परेवा भीर र ज्वाङखोलामा भने एक लेनबाट यातायात सञ्चालन भइरहेको छ।

रसुवाको पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। त्रिशूली नदीको कटान तथा भदौ १० गते आएको भोटेकोशी बाढीका कारण राजमार्गको ठूलो हिस्सा क्षतिग्रस्त भएको हो। स्याफ्रुबेँसीसम्म पुग्न वैकल्पिक कच्ची सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा लेदोसहितको पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चास्थित नाग्मा–मुगु गमगढी सडक र रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोरस्थित सहिद राजमार्ग पनि पहिरोका कारण बन्द छन्। ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा क्षेत्रमा सडक भासिएपछि कान्तिलोकपथमा एक लेनबाट यातायात सञ्चालन भइरहेको छ।

यसैबीच, काभ्रे–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तोकिएको छ। निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने १० टनसम्मका मालवाहक सवारीसाधन राति ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन्।

मकवानपुरका विभिन्न सडकमा पनि सवारीसाधनका लागि वैकल्पिक मार्ग र समय निर्धारण गरिएको छ। १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको छ। प्रहरीले विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, ओभरटेक नगर्न र ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७