नेपालले ठूलो परीक्षा लिइरहेको छ : सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्स
काठमाडौं : भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरलाई सफलतापूर्वक उद्धार गरेर अन्तर्राष्ट्रिय चर्चा कमाएका सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङमा जारी उद्धार अभियानलाई आफ्नो जीवनकै कठिन परीक्षा भएको बताएका छन्।
नेपालमा जारी उद्धार अभियानमा स्थलगत नेतृत्व र प्राविधिक परामर्श दिइरहेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सामाजिक सञ्जालमार्फत नेपालको अहिलेको अवस्था आफूले यसअघि कहिल्यै अनुभव नगरेको बताएका हुन्। ‘यस्तो कहिल्यै भोगेको थिइनँ,’ डिक्सले भनेका छन्।
उनका अनुसार नेपालको विपद्को अवस्था विगतका उद्धार अभियानभन्दा फरक छ। यहाँ एउटै स्थानमा मात्र नभई विभिन्न स्थानमा एकैपटक उद्धारका सम्भावना खोज्नुपर्ने अवस्था रहेको उनले बताएका छन्। ‘अहिले नेपालमा हामीले त्यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले पहिले कहिल्यै भोगेको थिइनँ। यहाँ कुनै एउटा मात्र उद्धार होइन, फरक–फरक स्थानमा एकैपटक धेरै सम्भावित उद्धारहरू सँगसँगै अगाडि बढिरहेका छन्,’ उनले लेखेका छन्। उनले प्रत्येक स्थानमा फरक–फरक जोखिम, अनिश्चितता र अझै जोगाउन सकिने जीवनहरू जोडिएको उल्लेख गरेका छन्।
सन् २०२३ मा भारतको सिल्क्यरा सुरुङमा १७ दिनसम्म फसेका ४१ मजदुरको उद्धार अभियान स्मरण गर्दै डिक्सले नेपालको अहिलेको अवस्थालाई अझ ठूलो जिम्मेवारीका रूपमा व्याख्या गरेका छन्।
‘सिल्क्यारामा ४१ जना जमिनमुनि थिए र हामीसँग उनीहरूलाई जीवितै घर फर्काउने एउटा असम्भवप्रायः जिम्मेवारी थियो। हामीले त्यो परीक्षा सँगै उत्तीर्ण गर्यौँ,’ उनले भनेका छन्।
तर एउटा कठिन उद्धार सफल हुँदैमा परीक्षा समाप्त नहुने भन्दै उनले त्यसपछि अझ ठूलो जिम्मेवारी आउन सक्ने बताएका छन्। डिक्सले पश्चिमी परम्पराको ‘कर्तव्य’ र पूर्वीय दर्शनको ‘धर्म’लाई उद्धार अभियानसँग जोड्दै परिणाम अनिश्चित भए पनि सही काममा निरन्तर लागिरहनुपर्ने बताएका छन्।
‘परीक्षा हामी सफल भयौँ कि भएनौँ भन्ने मात्र होइन। बाटो जतिसुकै कठिन हुँदै जाँदा, जिम्मेवारीहरू थपिँदा र नतिजा अज्ञात रहँदा पनि हामी निरन्तर सही काममा लागिरहन्छौँ कि रहँदैनौँ भन्ने मुख्य कुरा हो,’ उनले लेखेका छन्। उनका अनुसार सिल्क्यरा उद्धारले न्यून सम्भावना र असम्भवबीचको फरक सिकाएको थियो भने नेपालले एकैपटक धेरै जीवन उद्धारमा निर्भर हुँदा आशालाई अनुशासन र करुणालाई कार्यमा बदल्नुपर्ने पाठ सिकाइरहेको छ।
रसुवाको भोटेकोशी बाढीपछि डिक्सले नेपाल विद्युत् प्राधिकरणलाई अस्ट्रेलियाबाटै प्राविधिक परामर्श दिएका थिए। उनको सुझाव र समन्वयपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको जलमग्न सुरुङबाट बाढी आएको १० दिनपछि दुई जना प्राविधिकलाई जीवितै उद्धार गर्न सफल भएको बताइएको छ।
त्यसपछि नेपाल आइपुगेका डिक्स अहिले स्वयं उद्धार कार्यमा खटिएका छन्। बाढी र हिलोले पुरिएका संरचनाभित्र पनि मानिस बाँच्न सक्ने ‘हावाका सुरक्षित पकेट’ हुनसक्ने प्राविधिक सम्भावनाका आधारमा उनले चिलिमे जलविद्युत् आयोजनालगायत विभिन्न सुरुङमा खोजी तथा निरीक्षण कार्यलाई निर्देशन दिइरहेका छन्।
अन्तिमसम्म उद्धार अभियान जारी राख्ने दृढता व्यक्त गर्दै डिक्सले भनेका छन्, ‘हाम्रो मूल्यांकन हामीले कति जीवन बचायौँ भन्नेबाट मात्र हुँदैन, बरु हामीले त्याग्न अस्वीकार गरेका जीवनहरूबाट पनि हुन्छ।’
.gif)

.png)

