भोटेकोशी बाढीपीडितको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज सोमबार देशभर राष्ट्रिय शोक मनाइँदैछ। सरकारले भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ। पछिल्लो सरकारी विवरणअनुसार बाढीमा परी १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन्।
नेपाल प्रहरीको पछिल्लो विवरणमा पनि बाढीबाट ठूलो मानवीय क्षति भएको देखिएको छ। प्रहरीका अनुसार आइतबार बिहानसम्म १ हजार ३ सय ३९ जनाको शव फेला परेको थियो र ४ हजार ४४ जना बेपत्ता थिए। त्यसपछि अन्य निकायबाट थप शव फेला परेको विवरण सार्वजनिक भएको हो। बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार, शव पहिचान र व्यवस्थापन तथा राहत वितरणको काम जारी छ। सुरक्षा निकायसहित विभिन्न सरकारी तथा गैरसरकारी निकाय उद्धार तथा खोजी कार्यमा परिचालित छन्।
.gif)

.png)

