स्याउ निर्यातको सिजनमै कर्णाली राजमार्ग अवरुद्ध, व्यापारीलाई कुहिने चिन्ता


२०८३ भदौ २२ सोमबार ०७:०७ बजे
फाइल फोटो

सुर्खेत : जुम्ला, मुगु र हुम्लामा उत्पादित स्याउ देशका प्रमुख सहरमा निर्यात हुने मुख्य सिजनमै कर्णाली राजमार्ग अवरुद्ध भएपछि व्यापारी समस्यामा परेका छन्।

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुंगा र लेदो खसेर सडक अवरुद्ध भएपछि स्याउ बोकेका दर्जनौँ गाडी तीन दिनदेखि बाटोमै रोकिएका छन्। जुम्लाबाट सुर्खेत र नेपालगन्ज एक–दुई दिनमै पुग्ने लक्ष्यसहित हिँडेका स्याउका गाडी लामो समय सडकमा रोकिएपछि व्यापारीलाई स्याउ कुहिने र ठूलो घाटा हुने चिन्ता बढेको छ।

स्याउ व्यापारी मक्कर शाहीका अनुसार शनिबारदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेपछि आफूहरू बाटोमै अलपत्र परेका छन्। सडक कहिले खुल्ने निश्चित नभएकाले व्यवसायमा घाटा हुने उनको चिन्ता छ। ‘सडक कहिले खुल्ने हो थाहा छैन। अझै तीन–चार दिनपछि मात्र बाटो खुल्छ भन्छन्। त्यतिञ्जेलसम्म स्याउ कुहिएर जाने हो कि भन्ने डर लागिरहेको छ,’ उनले भने।

अर्का व्यापारी हस्तबहादुर रावतले वर्षा, बाढी र पहिरोका कारण गत वर्ष करिब १० लाख रुपैयाँ घाटा बेहोर्नुपरेको बताए। भरपर्दो सडक नहुँदा यस वर्ष पनि घाटा व्यहोर्नुपर्ने अवस्था आएको भन्दै उनले क्षति भए राज्यका तर्फबाट राहतको व्यवस्था हुनुपर्ने माग गरे।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जिल्लामा १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको छ। त्यसमध्ये अहिलेसम्म करिब ५० प्रतिशत निर्यात भइसकेको उनले जानकारी दिए। ‘पहिरोका कारण सडक अवरुद्ध हुँदा दर्जनौँ स्याउ बोकेका गाडी अगाडि बढ्न नसक्नु व्यापारीको मात्र होइन, सिंगो जुम्लाले पनि क्षति व्यहोर्नुपर्ने अवस्था हो,’ अधिकारीले भने।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार शनिबार राति ७ बजेदेखि कर्णाली राजमार्गको गगने खोलामा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। आइतबार कालीकोटको पिली र एस मोडमा समेत पहिरो तथा ढुंगा खसेर सडकमा क्षति पुगेको उनले बताए।

सडक खुलाउन आइतबार बिहान ५ बजेदेखि नै मेसिन तथा प्राविधिक टोली परिचालन गरिएको छ। लेदो, ढुंगा र चट्टानसहितको पहिरोका कारण राजमार्गका विभिन्न स्थानमा ठूलो क्षति भएकाले सडकको अवस्था जोखिमपूर्ण रहेको कार्यालयले जनाएको छ। सडक सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ काम भइरहेको भए पनि आवागमन सहज हुन तीन दिनसम्म लाग्न सक्ने कार्यालयको भनाइ छ। आधिकारिक सूचना जारी नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्नसमेत आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट, मुगु र हुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका सवारीसाधन रोकिएका छन्। यस्तै, सुर्खेतबाट माथिल्लो कर्णालीतर्फ जाने सवारीसाधन दैलेखको राकम, खिड्कीज्यूला र दही खोलालगायत क्षेत्रमा रोकिएका छन्। सडक अवरुद्ध भएकै कारण माथिल्लो कर्णालीबाट आएका स्याउका गाडी तीन दिनदेखि सडकमा थन्किएका छन्। यसबाट व्यापारीसँगै यात्रु पनि प्रभावित भएका छन्। रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७