बाबुरामको ‘चीनसँग दरार’ चिन्ताबारेको स्टाटस चिनियाँ दूतावासले सेयर गर्यो
हिमाली विपद्का बेला चीनसँगको सम्बन्ध बिगार्ने प्रयासप्रति डा. भट्टराईको आपत्ति
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमाली क्षेत्रमा देखिएको पछिल्लो विपद्लाई लिएर नेपालका छिमेकी मुलुकसँगको सम्बन्धमा अविश्वास सिर्जना गर्ने गतिविधि भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
भट्टराईले प्राकृतिक विपद्को सामना गरिरहेको समयमा नेपालले भूराजनीतिक तनाव बढाउने नभई छिमेकी मुलुकसँग सहकार्य र सन्तुलित सम्बन्धलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विशेषगरी चीनसँगको सम्बन्धमा आशंका उत्पन्न गराउने गतिविधि भइरहेको भन्दै त्यसलाई गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका हुन्।
उनका अनुसार विपद्का बेला केही पक्षले नियतवश तथा केहीले अनायासै भूराजनीतिक चलखेल गरिरहेका छन्। यस्ता गतिविधिले छिमेकीसँगको सम्बन्धमा अनावश्यक आशंका र दरार पैदा गर्न सक्ने उनको भनाइ छ।
भट्टराईले नेपालको राष्ट्रिय हित, स्वतन्त्र अस्तित्व र समृद्धिका लागि भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध आवश्यक रहेको बताएका छन्। वर्तमान विश्व अर्थतन्त्र परस्पर निर्भर बन्दै गएको उल्लेख गर्दै उनले नेपालले आफूलाई ‘दुई छिमेकीबीचको गतिशील सेतु’ का रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।
आगामी दिनमा हिमाली क्षेत्रसँग जोडिएका मुलुक तथा नेपालका दुवै छिमेकीसँगको सहकार्यलाई प्राथमिकतामा राखेर देशको आन्तरिक नीति तथा रणनीतिमा आवश्यक सुधार गर्नुपर्ने सुझावसमेत उनले दिएका छन्।
भट्टराईले लेखेका छन्, ‘हिमालसँग प्रत्यक्ष जोडिएको उत्तरी छिमेकीसँगको सम्बन्धमा आशंका र दरार पैदा गर्ने दृश्य–अदृश्य हर्कत ज्यादै चिन्ताजनक छ।’
यसैबीच, भट्टराईले सामाजिक सञ्जालमा राखेको उक्त धारणा नेपालस्थित चिनियाँ दूतावासले समेत सेयर गरेको छ।
.gif)

.png)

