नारायणगढ–मुग्लिन सडक : तुइन खोलामा दैनिक पाँच चरणमा आवागमन बन्द
चितवन : मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक मर्मतको काम जारी रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा पनि सोमबारदेखि निश्चित समयमा सवारी आवागमन रोकिने भएको छ।
कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम भइरहेकाले सडक तत्काल सञ्चालनमा ल्याउन केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। कृष्णभीरमा सडक अवरुद्ध भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी चापसमेत कम भएको छ। यही अवस्थाको सदुपयोग गर्दै तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम अघि बढाउन लागिएको हो। सो कामका क्रममा न्यूनतम सङ्ख्यामा सवारी प्रभावित हुने गरी सडकखण्डमा आंशिक रूपमा आवागमन रोक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
कार्यतालिकाअनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८:३० देखि १०:३० बजेसम्म, ११ बजेदेखि दिउँसो १ बजेसम्म, १:३० देखि ३:३० बजेसम्म र ४ बजेदेखि साँझ ६ बजेसम्म तुइन खोला क्षेत्रमा सवारी आवागमन बन्द रहनेछ। त्यसैगरी बिहान ८ देखि ८:३० बजेसम्म, १०:३० देखि ११ बजेसम्म, दिउँसो १ देखि १:३० बजेसम्म, ३:३० देखि ४ बजेसम्म र साँझ ६ बजेपछि भने सडक खुला रहनेछ।
यो व्यवस्था कृष्णभीर सडकखण्डको मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तोकिएको कार्यतालिकाअनुसार मात्र सवारी सञ्चालन तथा यात्रा गर्न चालक र यात्रुलाई अनुरोध गरेका छन्।
.gif)

.png)

