युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पका दूत र जेलेन्स्कीबीच निर्णायक वार्ता


२०८३ भदौ २२ सोमबार ०७:४९ बजे
Photo: Valentyn Ogirenko/Reuters

जेन्सी : रुस–युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासअन्तर्गत राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किएभमा गहन वार्ता गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा तीन घण्टाभन्दा लामो छलफल गरेको भोलिपल्ट अमेरिकी दूतद्वय किएभ पुगेका हुन्। उनीहरूको यो युक्रेन भ्रमण रुसले सन् २०२२ मा पूर्ण रूपमा आक्रमण सुरु गरेयताको पहिलो हो। वार्ताका क्रममा अमेरिकी प्रतिनिधिहरूले युद्ध अन्त्य गर्न नयाँ प्रस्ताव तथा सम्भावित शान्ति योजनाबारे छलफल गरेका छन्। विट्कफले वार्ता ‘अर्थपूर्ण’ र ‘फलदायी’ भएको बताएका छन्। कुशनरले भने दीर्घकालीन र टिकाउ शान्तिका लागि आवश्यक अवस्था निर्माण गर्ने विषयमा अमेरिकाले जोड दिइरहेको बताएका छन्।

युक्रेनी पक्षका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकी दूतहरूले यसपटक युद्ध अन्त्यका लागि पहिलेभन्दा ‘थप प्रभावकारी प्रस्ताव’ प्रस्तुत गरेका छन्। यद्यपि वार्ताबाट तत्काल कुनै ठोस सहमति वा युद्धविरामको घोषणा भएको छैन। वार्तामा युक्रेनी सुरक्षा अधिकारीसँगै बेलायत, फ्रान्स र जर्मनीका राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत सहभागी थिए। जेलेन्स्कीले युरोपेली साझेदारहरूको उपस्थितिको स्वागत गर्दै शान्तिका लागि सबै पक्ष एउटै दिशामा रहेको बताएका छन्।

अमेरिकी दूतहरूले मस्कोमा पुटिनसँग भएको छलफलका विषय पनि जेलेन्स्कीसँग साझा गरेका छन्। मस्को वार्तालाई क्रेमलिनले ‘रचनात्मक’ र ‘अत्यन्त स्पष्ट’ भनेको थियो। अमेरिकी पक्षले पनि आगामी हप्ताहरूमा वार्ताको अर्को चरणबारे घोषणा हुन सक्ने संकेत दिएको छ। यद्यपि युक्रेनको भूभाग, विशेषगरी डोनेत्स्क र लुहान्स्क क्षेत्रको भविष्य तथा युक्रेनलाई दिइने सुरक्षा प्रत्याभूति शान्ति प्रक्रियाका मुख्य जटिल विषय बनेका छन्। रुसले आफ्नो नियन्त्रणमा नभएका पूर्वी क्षेत्रसमेत कब्जा गर्ने माग छाडेको संकेत दिएको छैन भने युक्रेनले आफ्नो भूभाग त्यागेर शान्ति सम्झौता गर्न नसकिने अडान राख्दै आएको छ।

यसैबीच, अमेरिकी दूतहरूको भ्रमणलाई सहज बनाउन रुस र युक्रेनले आफ्ना राजधानीमाथि तीन दिनसम्म हवाई आक्रमण नगर्ने सहमति गरेका थिए। तर अन्य क्षेत्रमा भने सैन्य गतिविधि जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी प्रयासले लामो समयदेखि रोकिएको रुस–युक्रेन शान्ति वार्तालाई पुनः सक्रिय बनाउने सम्भावना देखिए पनि युद्ध अन्त्यका लागि तत्काल ठोस सहमति भने जुट्न सकेको छैन।

- एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७