भोटेकोशी बाढीले जलविद्युत्मा ६७ अर्बभन्दा क्षति
विद्युत् निर्यातमा समेत असर
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ६७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि नेपालबाट छिमेकी मुलुकमा हुने विद्युत् निर्यातसमेत प्रभावित भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट सरकारी र निजी क्षेत्रका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट रहेको छ। मन्त्रालयका प्रवक्ता शालिग्राम भण्डारीका अनुसार आयोजना र सबस्टेसनमा भएको क्षतिको प्रारम्भिक विवरणका आधारमा ६७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको हो। वितरण लाइनमा भएको क्षति भने उक्त रकममा समावेश गरिएको छैन। ‘वितरण लाइनबाहेक जलविद्युत् आयोजना र सबस्टेसनमा मात्रै ६७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ,’ भण्डारीले भने, ‘क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकनको काम भइरहेको छ।’
तर, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले भने जलविद्युत् क्षेत्रमा २६ अर्ब ७६ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार एक मेगावाट विद्युत् आयोजना निर्माणमा औसत २० करोड रुपैयाँ लागत मान्दा ६६९ मेगावाट क्षमताका आयोजनाको कुल लागत १ खर्ब ३३ अर्ब ८० करोड रुपैयाँ हुन्छ। त्यसको २० प्रतिशत क्षति हुँदा २६ अर्ब ७६ करोड रुपैयाँ बराबर हुने उनको तर्क छ।
बाढी तथा पहिरोबाट केही आयोजना पूर्णरूपमा प्रभावित भएका छन् भने केहीका बाँध, इन्टेक, पावरहाउस, सुरुङ, पाइपलाइन तथा पहुँचमार्गलगायत प्रमुख संरचनामा क्षति पुगेको छ। निर्माणाधीन आयोजनामा निर्माण सामग्री र अन्य संरचनामा समेत क्षति पुगेको मन्त्रालयले जनाएको छ। प्रभावित १२ आयोजनामध्ये आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २८१ मेगावाट तथा निर्माणाधीन आयोजनाको क्षमता ३८८ मेगावाट छ।
मन्त्रालयका अनुसार क्षतिग्रस्त आयोजनामध्ये ११ आयोजनासँग सम्बन्धित ९१९ जना अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेकाले यो संख्या थपघट हुन सक्ने मन्त्रालयले जनाएको छ।
बाढीले जलविद्युत् आयोजनाको उत्पादनमा असर गरेपछि विद्युत् निर्यातमा समेत प्रत्यक्ष प्रभाव परेको छ। सामान्य अवस्थामा नेपालले भारतमा करिब १ हजार २ सय मेगावाट र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको थियो। तर अहिले भारततर्फ करिब १ हजार मेगावाट मात्रै विद्युत् निर्यात भइरहेको मन्त्रालयले जनाएको छ।
चिलिमे र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुगेपछि बंगलादेशतर्फ निर्यात हुँदै आएको ४० मेगावाट विद्युत् पूर्ण रूपमा बन्द भएको छ। बंगलादेशबाट मात्रै नेपालले दैनिक करिब ७६ लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो। भारततर्फ पनि करिब २०० मेगावाट विद्युत् निर्यात घट्दा दैनिक करिब ३ करोड ५३ लाख रुपैयाँ बराबरको आम्दानी प्रभावित भएको मन्त्रालयले जनाएको छ।
क्षतिग्रस्त आयोजनाबाट विद्युत् उत्पादन हुन नसकेपछि आन्तरिक खपत व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने अवस्था आएको प्रवक्ता भण्डारीले बताए। उनका अनुसार अन्य आयोजनाबाट बंगलादेशमा विद्युत् निर्यात गर्ने विषयमा कूटनीतिक पहल भइरहेको छ।
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माण तथा सञ्चालनमा ल्याउन अवस्था हेरेर चारदेखि पाँच वर्षसम्म लाग्न सक्ने मन्त्रालयको प्रारम्भिक आकलन छ। तर सबै आयोजनामा यति लामो समय नलाग्ने प्रवक्ता भण्डारीले बताए। पावरहाउस र हेड अफिसमा मात्रै क्षति भएको तथा सुरुङमा ठूलो क्षति नभएको अवस्थामा आयोजना तुलनात्मक रूपमा छिटो पुनः सञ्चालनमा आउन सक्ने उनको भनाइ छ। ‘अझै सुरुङमा कस्तो क्षति भएको छ भन्ने अवस्था छैन,’ उनले भने।
नेपालमा १२ देखि १५ हजार मेगावाट विद्युत् उत्पादनका लागि विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेकाले अहिलेको क्षतिबाट मात्रै आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ।
.gif)

.png)

