सचिवमा बढुवा सिफारिस भएको भोलीपल्टै अवकाश भए नेपाल
काठमाडौं : सचिवमा बढुवाका लागि दोस्रोपटक सिफारिस भएका सामान्य प्रशासन मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले ५८ वर्षे उमेर हदका कारण निजामती सेवाबाट अनिवार्य अवकाश पाएका छन्।
सोमबार सचिव बढुवा सिफारिस समितिले नेपाललाई पहिलो नम्बरमा राखेर तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो। दोस्रोमा नारायणप्रसाद भट्ट र तेस्रोमा विनोदबहादुर कुँवर थिए। तर, मन्त्रिपरिषद्ले समयमै बढुवाको निर्णय नगरेपछि नेपाल सहसचिवबाटै अवकाश भएका हुन्।
नेपाल यसअघि पनि सचिव बढुवाको सिफारिसमा परेका थिए। पछिल्लो सिफारिसमा वरिष्ठताका आधारमा उनी पहिलो नम्बरमा परेका थिए।
२०७१ माघ २९ गते सहसचिव भएका नेपालले स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयमा जिम्मेवारी सम्हालेका थिए। अर्थ मन्त्रालयमा उनले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय तथा बजेट तथा कार्यक्रम महाशाखाको नेतृत्व गरेका थिए।
२०८१ माघमा उनलाई एसियाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशकमा मनोनयन गरिएको थियो। मनिलास्थित एडिबी मुख्यालयमा जिम्मेवारी सम्हालेपछि उनी २०८२ साउन अन्तिम साता नेपाल फर्किएका थिए। त्यसपछि उनको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको थियो।
.gif)

.png)

