चीनले एक सातामै सञ्चालनमा ल्यायो केरुङ जोड्ने राजमार्ग
काठमाडौं : तिब्बत क्षेत्रमा गएको भीषण बाढीपछि अवरुद्ध भएको जि२१६ राष्ट्रिय राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। राजमार्ग खुलेसँगै ठूला सवारीसाधन र भारी उद्धार उपकरण विपद् प्रभावित क्षेत्रतर्फ लैजान थालिएको छ।
राजमार्ग सञ्चालनमा आएपछि उद्धारकर्मीलाई विपद्को केन्द्रसम्म थप गहिराइमा पुग्न सहज भएको चिनियाँ सञ्चारमाध्यम चाइना मिडिया ग्रुपले जनाएको छ। यसलाई गत बुधबारको विनाशकारी पहिरोपछि उद्धार अभियानमा भएको महत्वपूर्ण प्रगतिका रूपमा लिइएको छ। चीनतर्फ पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।
.png)
कठिन भूगोल, खराब मौसम र ठूलो मात्रामा थुप्रिएको माटो तथा भग्नावशेषका बाबजुद चिनियाँ उद्धार टोलीले खोजीलाई तीव्रता दिएको छ। हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याइएका तिब्बत सीमा प्रहरीसहितका उद्धारकर्मीले सम्पर्कविहीन भएकाहरूको खोजीमा कुनै कसर बाँकी नराख्ने बताएका छन्। जिगात्से सीमा नियन्त्रण टुकडीका प्रहरी अधिकारी ये यीले भनेका छन्, ‘हामी खोजीलाई तीव्र बनाउनेछौँ। हामी हार मान्ने छैनौँ, कसैलाई छाड्ने छैनौँ।’
प्रभावित क्षेत्रमा कतिपय स्थानमा माटो घुँडासम्म र कतिपय ठाउँमा कम्मरसम्म जमेको उद्धारकर्मीले बताएका छन्। बाक्लो माटोका कारण उद्धार टोलीको आवतजावत कठिन हुनुका साथै नियमित खोजी उपकरणको प्रभावकारिता पनि घटेको छ।
उद्धारकर्मीले माटो र भग्नावशेष हटाउँदै म्यानुअल रूपमा पनि खोजी गरिरहेका छन्। सम्भावित जीवित व्यक्तिको संकेत पत्ता लगाउन ठोकेर, आवाज दिएर र सुनेर खोजी गर्ने गरिएको छ। तालिमप्राप्त खोजी कुकुरलाई समेत छुट्टाछुट्टै क्षेत्रमा परिचालन गरिएको छ। त्यसैगरी भग्नावशेषभित्र पुरिएका मानिसको अवस्थिति पत्ता लगाउन जीवन पत्ता लगाउने अत्याधुनिक उपकरण प्रयोग भइरहेको छ। उद्धारकर्मीका अनुसार नाकाको सम्पूर्ण क्षेत्रमा सतहको खोजी गरिसकिएको छ भने माथिल्लो तहमा पटक–पटक छानबिन भइरहेको छ। विशेषज्ञहरूले भूभागको तीव्र भिरालोपन, पहिरोको अत्यधिक गति र साँघुरो उपत्यकाका कारण विपद्को प्रभाव असाधारण रूपमा ठूलो भएको बताएका छन्।
.png)
उद्धार अभियानसँगै प्रभावित क्षेत्रमा सञ्चार सेवा पनि पूर्ण रूपमा पुनःस्थापित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ। मंगलबार साँझसम्म एउटा बेस स्टेसन पुनः सञ्चालनमा ल्याइएको र थप १२ वटा आपत्कालीन बेस स्टेसन स्थापना गरिएको थियो। यसले उद्धार, राहत सामग्री आपूर्ति तथा अभियानको कमान्ड र समन्वयमा सञ्चार अवरोध हटाएको बताइएको छ।
स्थानीय दूरसञ्चार अधिकारीहरूले जमिन र हवाई दुवै माध्यमबाट सञ्चार सेवा उपलब्ध गराउने व्यवस्था मिलाएका छन्। त्यसका लागि ठूला मानवरहित विमान तथा सञ्चार रिले ड्रोनसमेत परिचालन गरिएको छ। राजमार्ग र सञ्चार सेवा पुनः सञ्चालनमा आएसँगै अब उद्धार टोलीलाई प्रभावित क्षेत्रको थप भित्री भागमा पुग्न तथा भारी उपकरण प्रयोग गरी खोजी अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।
.gif)

.png)

