मनसुन सक्रिय : आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौं : मनसुनी वायुको प्रभाव कायमै रहँदा आज सोमबार देशभर मौसम बदली रहने र अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक रहेको छ। साथै, उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभावसमेत नेपालमा परिरहेको छ। यी मौसमी प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना बढेको हो। सोमबार बिहान ८ बजेको विवरणअनुसार कोसी र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा बादल लागेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भने सामान्यतया बदली रहेको छ।
हाल कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
पहाडी तथा तराई भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
.gif)

.png)

