यस्तो छ विपद् प्रभावित क्षेत्रमा घुमिरहेको ‘ग्रिन आर्मी’को वास्तविकता
काठमाडौं : बाढी प्रभावित क्षेत्रमा सैनिक पोशाकसँग मिल्दोजुल्दो ‘चुस्ता’ लगाएर खटिएको ‘ग्रिन आर्मी’बारे सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठिरहेका छन्। तर यो कुनै सैन्य संगठन नभई सरकारी निकायमा दर्ता भएको वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा सक्रिय स्वयंसेवी संस्था रहेको खुलेको छ।
ग्रिन आर्मी नाम दिइएको यो संस्था गोकर्णेश्वर नगरपालिका–४ मा दर्ता भएको ‘मुनाफा वितरण नगर्ने कम्पनी’ हो। संस्थाका अध्यक्ष छन् सविन शर्मा। उनका अनुसार संस्थाले प्रयोग गर्ने पोशाकलाई गृह मन्त्रालय, रक्षा मन्त्रालय र नेपाली सेनाको सहमतिमा २०७८ साउनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो।
.jpg)
पोशाकको स्वीकृतिका क्रममा जिल्ला सुरक्षा समिति र जङ्गी अड्डाबाट राय लिइएको उनले बताए। नेपाली सेनाको पोसाकसँग नमिल्ने तथा वातावरण संरक्षणसँग सम्बन्धित संस्था भएकाले प्रयोग गर्न मिल्ने राय प्राप्त भएपछि रक्षा र गृह मन्त्रालयको निर्णयका आधारमा प्रशासनले अनुमति दिएको उनको दाबी छ। पोसाकमा वातावरण संरक्षणको सन्देश दिने पातको लोगोसमेत राखिएको छ।
भूकम्पदेखि बाढीसम्म उद्धारमा सक्रिय
अध्यक्ष शर्माका अनुसार ‘ग्रिन आर्मी’को अवधारणा २०७० सालबाट सुरु भएको हो। २०७२ सालको भूकम्पका बेला साँखु र सिन्धुपाल्चोकमा समेत समूह उद्धारमा सक्रिय भएको थियो। संस्थाले विद्यालयका विद्यार्थीलाई ‘इको क्लब’मार्फत वातावरण संरक्षण, वृक्षारोपण, सरसफाइ तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएको छ। शर्माले ग्रिन आर्मीलाई स्काउट वा एनसीसीजस्तै स्वयंसेवी सामाजिक संस्था भएको बताए।
ग्रिन आर्मीका प्रमुख सल्लाहकार नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल रहेको र पछिल्लो बाढीपछि नुवाकोटमा उनकै नेतृत्वमा टोली परिचालन भएको शर्माले जानकारी दिए। उनका अनुसार संस्थामा आबद्ध क्याडेटलाई नेपाली सेना र नेपाल प्रहरीका अवकाशप्राप्त तालिमप्राप्त प्रशिक्षकले अनुशासन, ड्रिल, मास पिटी तथा विपद् व्यवस्थापनको तालिम दिने गरेका छन्। विपद् व्यवस्थापनका लागि नेपाली सेनाको श्री नं. १ विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरीसँग समेत समन्वय हुने उनको दाबी छ।
.jpg)
सात हजार जुनियर क्याडेट
संस्थाका अनुसार हाल देशभर विद्यालय तहका ६ देखि ७ हजार जुनियर क्याडेट आबद्ध छन्। तालिम लिएर बाहिरिएका सदस्यको संख्या भने ३० देखि ७० हजारसम्म रहेको संस्थाको दाबी छ। ग्रिन आर्मीले वातावरण संरक्षणसँगै भविष्यमा कृषि क्षेत्रमा समेत काम गर्ने लक्ष्य राखेको शर्माले बताए। उनका अनुसार बालबालिकालाई वातावरण संरक्षण र कृषितर्फ आकर्षित गर्दै नेपाललाई खाद्य उत्पादनमा आत्मनिर्भर बनाउने अभियान संस्थाको दीर्घकालीन उद्देश्य हो।
बाढी प्रभावित क्षेत्रमा ग्रिन आर्मीको उपस्थितिबारे सुरक्षा निकायका केही अधिकारीले अनभिज्ञता जनाएपछि सामाजिक सञ्जालमा प्रश्न उठेको थियो। तर संस्थाले भने आफ्ना गतिविधि सरकारी अनुमति र सम्बन्धित निकायसँगको समन्वयमै भइरहेको दाबी गरेको छ।
.gif)

.png)

