रसुवाबाट सेनाले गर्‍यो बेपत्ता ६ जनाको जीवितै उद्धार, हाइड्रोका सुरुङमा खोजी तीव्र


२०८३ भदौ १८ बिहीबार १३:४३ बजे

काठमाडौं : भोटेकोशी बाढीका क्रममा रसुवामा बेपत्ता भएका ६ जनालाई नेपाली सेनाले जीवितै उद्धार गरेको छ। बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र उद्धारलाई नेपाली सेनाले तीव्रता दिएको छ।

खोजीका क्रममा लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। सैनिक मुख्यालयका अनुसार टोली सुरुङभित्र करिब १५० मिटर प्रवेश गरेर दुई स्थानमा साना होल बनाई खोजी गरिरहेको छ। सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन टोलीले विभिन्न स्थानमा प्रवेश मार्ग बनाउँदै खोजी अघि बढाएको हो। चिलिमे हाइड्रोमा पनि यस्तै प्रकृतिको खोज तथा उद्धार कार्य जारी छ।

यस्तै त्रिशूली थ्री एमा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले पाँच वटा स्काभेटर प्रयोग गरेर रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाउने काम गरेको छ। सैनिक मुख्यालयका अनुसार राति करिब २ बजे आउटलेटको होललाई ठूलो बनाउन क्राउनमा ब्लास्टिङ गरी सफा गर्ने कामसमेत गरिएको छ। 

यसैगरी त्रिशूली थ्री बीमा पनि उद्धार टोलीले खोजी तथा पहुँच निर्माणको कामलाई तीव्रता दिएको छ। त्यहाँ नेपाली सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले आयोजनाको कार्यालय र निवास रहेको क्षेत्र पहिचान गरिसकेको छ। उक्त क्षेत्रमा पुग्न एक्साभेटरबाट बाटो बनाउने तथा बबक्याट प्रयोग गरेर माटो पन्छाउने काम भइरहेको सैनिक मुख्यालयले जनाएको छ।

भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता भएकाहरूको खोजी नेपाली सेना, आयोजनाका प्राविधिक तथा अन्य उद्धार टोलीले संयुक्त रूपमा गरिरहेका छन्। भारी मात्रामा लेदो, माटो र ढुंगा भरिएका कारण सुरुङभित्र प्रवेश गरी खोजी गर्न चुनौती देखिएको छ। यद्यपि उपकरण तथा जनशक्ति परिचालन गरेर उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७