आर्मीले तेस्रो पटक प्रधानमन्त्री कप क्रिकेटको उपाधि जित्यो


२०८३ बैशाख ४ शुक्रबार १५:३१ बजे

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि तेस्रो पटक जितेको छ । 

शुक्रबार भएको फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचालेको हो । यसअघि आर्मीले सन् २०१७ र २०२१ संस्करणमा पनि उपाधि जितेको थियो । 

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । 

आर्मीको जितमा इम्रान शेखले अविजित ४६ रन बनाए । बसिर अहमदले ४५ रनको योगदान दिए । यी दुईले महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए। ओपनर तृतराज दासले ३१ रन बनाउँदा कुशल मल्लले १७ रन जोडे । 

सुदूरपश्चिमका लागि हेमन्त धामीले दुई विकेट लिए भने विकास आग्री, शेर मल्ल र आशोक धामीले समान एक–एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो। टोलीका लागि आशोक धामीले सर्वाधिक ४३ रन बनाए। किरण ठगुन्नाले ३५, नारायण जोशीले २९ र हेमन्त धामीले १६ रनको योगदान गरे । 

आर्मीका आकाश चन्द र साहब आलमले समान तीन विकेट लिए । बसिर अहमदले दुई तथा कुशल मल्लले एक विकेट लिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७