लोकसेवाको नतिजामा ऋचा निरौलाको नाम आयो तर, उनी आइनन्
काठमाडौं : बिहीबार लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गर्यो। नतिजाको सूचीमा क्रम संख्या १२ मा एउटा नाम थियो—ऋचा निरौला।
पहिलो प्रयासमै सब–इन्जिनियर पदमा ऋचाको नाम निस्किएको थियो। तर, यो खबर सुन्दा उनको परिवारले खुसी मनाउन सकेन। किनकि करिब एक महिनादेखि परिवारले ऋचाको नाम मात्रै होइन, उनलाई नै खोजिरहेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि ऋचा बेपत्ता छिन्। बाढी आएको यतिका दिन बितिसक्दा पनि उनी कहाँ छिन्, कस्तो अवस्थामा छिन् भन्नेबारे परिवारले आधिकारिक जानकारी पाउन सकेको छैन।
मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भई हाल विराटनगर–३ मा बस्दै आएको निरौला परिवारका लागि बिहीबारको दिन अनौठो रह्यो। छोरीले पहिलो प्रयासमै लोकसेवा पास गरेको खबर आयो, तर त्यो खबर सुनाउने वा खुसी साट्ने ऋचा साथमा थिइनन्।
ऋचा विगत ६ महिनादेखि २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्। भदौ १० गते बाढी आएपछि उनीसहित आयोजनामा कार्यरत केही कर्मचारी बेपत्ता भएका हुन्।
ऋचाकी दिदी रक्षा निरौलाका अनुसार ऋचाले लोकसेवाको परीक्षा गम्भीर तयारीका साथ नभई ‘फ्रेसर’ भएकाले अनुभवका लागि मात्रै दिन लागेको बताएकी थिइन्।
‘म फ्रेसर हुँ, सक्दिनँ होला, ट्रायलका लागि मात्र परीक्षा दिन्छु’, ऋचाले दिदीलाई भनेकी थिइन्। तर, नतिजाले ऋचाको त्यो अनुमान गलत साबित गरिदियो। पहिलो प्रयासमै उनको नाम निस्कियो।
बहिनीको सफलता सार्वजनिक गर्दै रक्षा निरौलाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तिमीले त ‘म फ्रेसर हुँ, सक्दिनँ होला, ट्रायलका लागि मात्र परीक्षा दिन्छु’ भनेकी थियौ। तर पहिलो पटकमै गरेर देखायौ। आज तिमी हामीसँग भएको भए कति खुसी हुन्थ्यौ होला! आशा छ, तिमी सुरक्षित छौ र चाँडै फर्केर आउनेछौ।’
ऋचाका बुवा लीलाप्रसाद निरौलाले भने छोरीको सफलताभन्दा पहिले उनको अवस्था थाहा पाउन चाहेको बताए। परिवारलाई अहिले एउटै प्रश्नले सताइरहेको छ, लोकसेवाको नतिजामा छोरीको नाम आयो, तर ऋचा स्वयं कहाँ छिन् ?
छोरीले पहिलो प्रयासमै सफलता हात पारेको खबरले परिवारको शिर उँचो भएको छ। तर, त्यो खुसीभन्दा ठूलो छ ऋचाको पर्खाइ।
.gif)

.png)


