पाँच मन्त्री–राज्यमन्त्री थपिएसँगै सुदूरपश्चिम सरकारले पायो पूर्णता
कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएसँगै मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। प्रदेश प्रमुख नजिर मियाँले तीन मन्त्रीलाई शपथ गराएका हुन् भने मुख्यमन्त्री भट्टले दुई राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
मुख्यमन्त्री भट्टले आजै नेकपाका तर्फबाट प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारूलाई मन्त्री नियुक्त गरेका थिए। त्यस्तै, जानकी कुँवर र इन्दिरा गिरी राज्यमन्त्री नियुक्त भएका छन्। रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री तथा गिरीलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
गत २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेकपा एमालेका तर्फबाट चक्र मल्ललाई आर्थिक मामिला मन्त्री, सन्तोषी थापा शर्मालाई सामाजिक विकास मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिसकेका थिए। एमालेकै तर्फबाट जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भइसकेकी छन्। आज थप पाँच जना मन्त्री तथा राज्यमन्त्रीले शपथ लिएसँगै सुदूरपश्चिम प्रदेश सरकारले पूर्ण मन्त्रिपरिषद् पाएको छ।
.gif)

.png)

