कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको जोखिम
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको गतिविधि देखिएको हो।
महाशाखाका अनुसार अहिले मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने लुम्बिनी प्रदेशको तराई भूभागमा पनि आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। तराई भूभागका पनि थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराई भूभाग, बागमती प्रदेशको तराई भूभाग र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनीका पहाडी भूभागका थोरै स्थानमा वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा पनि राति वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराईका केही स्थानमा, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
वर्षाको सम्भावना रहेका क्षेत्रमा विशेषगरी भारी वर्षाका कारण सडक तथा यातायात प्रभावित हुनसक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्नसक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
.gif)

.png)

