विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट, लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार भट्टले विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिन बैठक व्यवस्थापनका लागि पत्र पठाएका थिए। सोहीअनुसार आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दैछ। बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रदेशसभा सदस्यहरूले प्रस्तावमाथि धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ्नेछ।
साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्ट नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्वमा पुगेका हुन्। उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। दुई राज्यमन्त्री र सात मन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद्मा हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्र छन्।
मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्। प्रदेशसभामा भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, कांग्रेसका १८, एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रदेशसभा सदस्य छन्।
.gif)

.png)

