खेम सेञ्चुरीको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं : लोकगायक खेम सेञ्चुरीलाई उनको गीत ‘बाहुन बाजे किन कसेको’ विरुद्ध परेको उजुरीका विषयमा साइबर ब्युरोले छलफलका लागि बोलाएको छ।
सेञ्चुरीको रचना, स्वर र संगीत रहेको उक्त गीतले बाहुन समुदायलाई होच्याएको आरोप लगाउँदै हिन्दुवादी अभियन्ता सागर थापाले साइबर ब्युरोमा उजुरी दिएका थिए।
उजुरीमा गीतका केही शब्दले बाहुन समुदायप्रति अपमानजनक धारणा प्रस्तुत गरेको तथा सनातन हिन्दू समुदायबीचको एकता र सद्भावमा असर पार्न खोजिएको दाबी गरिएको छ।
उक्त उजुरीमाथि छलफल गर्न सेञ्चुरीलाई मंगलबार साइबर ब्युरो बोलाइएको थियो। सेञ्चुरीसँग छलफल भएको ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले पुष्टि गरेका छन्।
गीतमा आपत्ति जनाइएका शब्द तथा त्यसलाई संशोधन गर्ने वा गीत हटाउने विषयमा छलफल गर्न बुधबार दिउँसो १ बजे दुवै पक्षलाई पुनः बोलाइएको साइबर ब्युरो स्रोतले जनाएको छ।
यसअघि उजुरी परेपछि सेञ्चुरीले गीतको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। थप छलफलपछि गीतबारे के निर्णय हुन्छ भन्ने टुंगो लाग्नेछ।
.gif)

.png)


