राज्यले न्याय र राहत दिए पनि जीवन फर्काउन सक्दैन : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको अवसरमा जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई भेट्दै सहानुभूति प्रकट गरेकी छन्।
प्रधानमन्त्रीले पीडित परिवारलाई भेट्दै कुनै पनि हिसाबले नोक्सानी पूर्ति हुन नसक्ने बताउँदै भनिन्, 'उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।'
प्रधानमन्त्री कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजी आन्दोलनमा सहभागीहरूको ज्यान गएको बताएकी छन्,'दुःखद घटना भयो। सरकारमा हुनेको बुद्धि पुगेन, जस कारण यो दुर्घटना भयो ।'
उनले शहीद परिवारका बालबालिकाको शिक्षादेखि रोजगारीसम्मको जिम्मेवारीबारे राज्यले गम्भीर रूपमा सोचिरहेको स्पष्ट पारिन्। नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई सहयोग गर्नेबारे उनले भनिन्,'बच्चाहरूले पढ्ने कसरी ? त्यसका लागि पढाइ, रोजगारी जस्ता व्यवस्था मिलाउने गरी सोचिरहेका छौँ ।'
साथै, उनले सरकार घटनाप्रति गम्भीर रहेको र पीडितलाई न्याय र राहत दिन सबै तहमा काम भइरहेको जानकारी दिइन् । यसअघि नै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएका शहीदको सम्झनामा यस वर्ष टीका नलगाउने निर्णय गरिसकेकी थिइन् ।