प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनका शहीद परिवार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन 'जेनजी' आन्दोलनका शहीद परिवारलाई भेटेकी छन् ।
बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।
साथै, उनले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि सहिदका परिवार भेट्न पुगेका थिए। गत भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको आन्दोलनका क्रममा ३ सुरक्षाकर्मीसहित ७६ जनाको मृत्यु भएको छ ।
यस वर्षको दसैँमा जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शोकका कारण राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजा कसैले पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने सार्वजनिक कार्यक्रम राखेका थिएनन् ।
यस्तो अवस्थामा प्रधानमन्त्री कार्कीले भने दसैँको दिनमा ज्यान गुमाएका जेनजी शहीदका परिवारसँग भेट गरी उनीहरूको शोकमा सहभागी भएकी हुन्।