आजदेखि रातिको समयमा बिपी राजमार्ग बन्द

काठमाडौँ : मनसुन सक्रिय हुँदै गएपछि जोखिम न्यूनीकरणका लागि बिपी राजमार्गमा आजदेखि असोज २१ गतेसम्म राति सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुवाहक सवारी चलाउन पाइने छैन । काभ्रे भञ्ज्याङ–भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा अत्यावश्यक सेवाबाहेकका सवारी रोक लगाइएको हो।
भारी वर्षाको सम्भावनाको बीच जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समितिको निर्णयपछि यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी भने चल्न पाउनेछन्। स्थानीय खोला, बस्ती र पहिरो सम्भावित क्षेत्रहरूमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
गत वर्षको वर्षाले सडकमा क्षति पुर्याएको र अझै पनि पुनर्निर्माण नसकिएकाले जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । साथै डोजर, एक्स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ ।