रोमानियामा आगलागीमा परेर ज्यान गुमाएका २ नेपालीको पहिचान

काठमाडौँ : युरोपेली मुलुक रोमानियामा सोमबार भएको एक होटेलमा आगलागीमा २ नेपालीको जलेर मृत्यु भएको पुष्टि भएको छ।
रोजगारीको सिलसिलामा रोमानिया पुगेका इलामको माई नगरपालिका-७ की २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका-९ की २४ वर्षीया सुस्मिता तामाङको मृत्यु भएको हो।
आगलागीका कारण सोनी र सुस्मिता घटनास्थलमै जलेर मृत्यु भएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार उनीहरू रोमानिया पुगेको सुस्मिता ५ महिना र सोनी एक वर्षमात्र भएको थियो ।
आगलागी भएको होटेल रोमानियाको राजधानी बुखारेष्टबाट करिब ५२ किलोमिटर टाढा स्थित प्रहोभास्थित तातरानी सहरमा पर्छ । विद्युत् सर्ट भएर आगलागी भएको र होटेलको अग्नि सुरक्षा मापदण्ड पुरा नगरेको कारण प्रशासनले एक हप्ता अघि होटेल बन्द गर्न आदेश दिएको थियो ।
बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयाँलका अनुसार मृतकहरूको शव नेपाल पठाउने र क्षतिपूर्तिका लागि पहल भइरहेको छ ।