पाँच मिनेट मात्रै ढिला भएको भए मलाई चहिँ मार्ने नै थिए : ओली


२०८२ असोज १० शुक्रबार २२:१९ बजे

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ५ मिनेट मात्रै ढिला भएको भए प्रर्दशनकारीहरुले आफूलाई मार्ने बताएका छन् । ओलीलाई २४ गतेको विद्रोहमा सैनिक हेलिकोप्टरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भगाएर  सैनिक ब्यारेक शिवपुरि लगिएको थियो । 

नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका टोलीसँग कुरा गर्दै ओलीले भनेका छन्, ‘५ मिनेट मात्रै ढिला गरेको भए मलाई चहिँ मार्ने नै थिए । शेरबहादुरजीलाई घाइते बनायो, मलाई चहिँ मार्ने नै थिए ।  मैले आफ्नो तयारी गर्न पाइँन । मलाई सेक्युरीटिमा अलिकति भरोषा भयो । सेक्युरीटिले हामीले केही गर्न सक्दैनौं भन्यो । अन्तिममा सेनाले भगाईसम्म दियो ।' 

प्रधानमन्त्रीले राजीनामा नदिए सेनाले रेस्क्यु गर्न नसक्ने बताएपछि ओलीले २४ गते दिउँसो २ बजे राजिनामा दिएका थिए ।राजीनामालगत्तै ओली, उनकी पत्नी राधिका शाक्य र मुख्य सल्लाहकार विष्णु रिमाललाई सेनाले दिउँसो ०२:३० बजे हेलिकोप्टरमा शिवपुरीस्थित स्टाफ कलेजको ब्यारेकमा लगेको थियो ।

बालुवाटारमै रहेका उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव  शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई भने माथिको आदेश भन्दै त्यहीँ छोडेको थियो । उनीहरू प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षित भएका थिए । 

२३ भदौमा १९ युवाको ज्यान गएपछि २४ भदौको बिहानैदेखि आन्दोलन चर्किएको थियो । बिहान १० बजे मुख्यसचिव एकनारायण अर्याल प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा गृह मन्त्रालयमा बैठक बसेर प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका थिए ।

उनीहरूले पनि परिस्थिति असामान्य बन्दै गएकाले राजनीतिक निकासका लागि सुझाव दिए । तर, ओली उल्टै आक्रोशित भएका थिए । भनेका थिए, ‘राजनीतिक निकास भनेको राजीनामा रु सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने ? अनि प्रधानमन्त्रीले राजनीतिक निकास दिने ? तपाईंहरूको परिभाषित जिम्मेवारी जे हो, त्यो पूरा गर्नोस्, स्थिति ठीक हुन्छ । म यहाँ बस्ने कुर्सी ओगट्न होइन, राष्ट्रको चुनौती पूरा गर्नका लागि हो । तपाईंहरुले पनि त्यो पूरा गर्नोस् ।’ 

राजीनामा दिएर निकास दिन प्रधानसेनापतिले आग्रह गरेपछि ओली थप आक्रोशित बनेका थिए । प्रधानमन्त्री आक्रोशित भएपछि निराश सुरक्षा प्रमुखहरू प्रधानमन्त्रीको बैठक कक्षबाट सडक प्रदर्शनको जानकारी लिन थाले । बाहिर स्थिति भयावह भइसक्यो भने रिपोर्ट आइरहेको थियो ।

त्यसपछि मुख्यसचिव र प्रधानसेनापतिले अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीका सल्लाहकार रिमालसँग  प्रधानमन्त्रीले राजीनामा नदिने हो भने थाम्न सकिँदैन भनेका थिए । उनी राजीनामा नदिएरै बालुवाटारबाट सुरक्षित स्थानतिर जाने तयारीमा थिए । तर, सेनाले राजीनामा नदिई उनलाई रेस्क्यु गर्न मानेन । अनि बल्ल २ बजेतिर ओलीले राजीनामापत्रमा हस्ताक्षर गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७