गाडीमा खुकुरी हान्ने युवक म होइन, मेरो चरित्र हत्या गरियो : उपार्जुन चाम्लिङ

काठमाडौं : सुधन गुरुङको नेतृत्वमा रहेको जेनजी समूहका कोशी इन्चार्ज उपार्जुन चाम्लिङले नियोजित रुपमा आफ्नो चरित्र हत्या गरिएको भन्दै आपत्ती जनाएका छन् । अहिले सामाजिक संजालमा एउटा भिडियो फुटेज सार्वजनिक भएको छ, जसमा मंगोल अनुहारका एक युवक प्रहरीको गाडीमा खुकुरी हानिरहेको देखिएको छ । केही सञ्चार माध्यमहरुले त्यो युवक चाम्लिङ भएको भन्दै समाचार प्रकाशित गरेका थिए ।
चाम्लिङले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म आफ्ना मित्र, शुभेच्छुक, सहकर्मी र सम्पूर्ण पाठकवृत्तिलाई समेत यो प्रष्ट पार्न चाहन्छु, समाचारमा उल्लेख गरिएझैं म कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न भएको छैन, र मेरो चरित्र हत्याका लागि प्रयोग गरिएको झूटपूर्ण सूचना प्रति म दृढ रूपमा खण्डन गर्दछु।’
उनले आफूलाई बदनियतपूर्ण तरीकाले मलाई बदनाम गराउन खोजिएको बताएका छन् । भनेका छन्, ‘समाचार पूर्णतः निराधार, मनगढ़न्ते र तथ्यहीन छ। म सो घटनामा कतै पनि संलग्न छैन र त्यस्तो कुनै गतिविधिमा मेरो भूमिका रहेकै छैन। निराधार आरोपसहितको यो समाचारले मेरो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र पेशागत जीवनमाथि गम्भीर धक्का पुगेको छ, जसलाई म गम्भीर आपत्ति प्रकट गर्दै खण्डन गर्दछु।’