पूर्व अर्थमन्त्री पुनलाई दुर्लभ रोगले दियो दुःख, श्रीमतीसहित फेरि उडे चीन


०५:३७ बजे
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनलाई बंशाणुगत रोगले फेरि दुःख दिएको छ । नेता पुन फेरि उपचारका लागि छिमेकी मुलुक चीन उडेका छन् । पूर्व सभामुख समेत रहेकी पत्नी ओनसरी घर्तीमगरसहित उनी चीन उडेका हुन् । 

एअर चाइनाको उडान नम्बर सिए ४३८ मार्फत उनीहरु १२ बजेर ५ मिनेटमा चीन प्रस्थान गरेको जनाइएको छ । वंशाणुगत जण्डिसको समस्या झेलिरहेका पुनले यसअघि सेन्चन शहरको थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । उनी फलोअप उपचारका निम्ति त्यता गएको स्रोतले जानकारी दिएको छ । पुन तीन–चार दिनमा फर्किने बताइएको छ । मंसिरमै उपचारका लागि जानुपर्ने उनी व्यस्तताका कारण ढिला गरी गएको बताइएको छ । 

पुनमा दुलर्भ मानिने ‘बिलिरुबिन’ मा समस्या देखिएको छ । बिलिरुबिन एक पहेंलो पदार्थ हो, जुन पुरानो रक्त कोषिकाहरु तोडिँदा उत्पादन हुन्छ । कलेजोद्वारा उत्पादन हुने यो पदार्थ पित्त थैलीमा भण्डारण हुन्छ । बिलिरुबिन बढ्नु जण्डिस जस्तै रोग लाग्नु हो । सामान्य मानिसको शरीरमा एक दशमलव तीन मिलीग्राम बिलिरुबिन हुन्छ । तर, पुनको शरीरमा सामान्य अवस्थामै पनि ११–१२ मिलीग्राम बिलिरुबिन देखिने गरेको छ । कोरोना महामारीताका स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थाइल्याण्डको बैंककस्थित एक अस्पतालमा भर्ना भएका पुनको बिलिरुबिन बढेर ४० मिलिग्राम पुगेको थियो । 

उनी कार्यक्रमका शिलशिलामा गाउँ गएका बेला बेहोस भएपछि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्यान जोगाइ दिन तत्कालीन चिनियाँ प्रधानमन्त्री लि  खछ्याङ्गलाई नै आग्रह गरेका थिए । कोरोना महामारीका कारण बाहिरी आवागमन ठप्प पारेको चीन सरकारले तत्काल १२ जना चिकित्सकसहित एयर एम्बुलेन्स पठाएर उनको उद्दार गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७