आरुघाट पुलमा सेनाले बनायो बेलिब्रिज


२०८३ कार्तिक ३ सोमबार १६:५४ बजे

गोरखा :  बूढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ। नेपाली सेनाले बेलिब्रिज जडानको काम सम्पन्न गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको हो।

गत असोज २५ गते आएको भीषण बाढीले पुलको गोरखातर्फको करिब २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको थियो। पुल क्षतिग्रस्त हुँदा गोरखा र धादिङका स्थानीयवासीको आवतजावतसँगै प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत कठिनाइ भएको थियो।

यातायात सेवा छिटो सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेनाले असोज ३१ गतेदेखि बेलिब्रिज जडानको काम सुरु गरेको थियो। कात्तिक १ गते निर्माण सम्पन्न भएपछि सोमबार पुल गोरखा सडक आयोजनालाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार नवनिर्मित बेलिब्रिज ९० फिट अर्थात् २७ दशमलव ४३ मिटर लामो र १३ दशमलव ७८ फिट अर्थात् ४ दशमलव २ मिटर चौडा छ। बेलिब्रिज जडान भएपछि आरुघाट क्षेत्रमा यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ। सोमबारदेखि दुईपाङ्ग्रे सवारीसाधन र मंगलबारदेखि चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने जनाइएको छ।

बेलिब्रिज सञ्चालनमा आएपछि गोरखा र धादिङका स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने तथा बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्री पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७