५९ सेकेन्डको अन्तिम संवाद : निधनको अघिल्लो दिनसम्म ऋण माग्दै थिए विजय पौडेल
काठमाडौं : आइतबार दिउँसो एमाले नेता सुरेन्द्र पाण्डेको फोनमा अर्थविज्ञ तथा कम्युनिस्ट नेता डा. विजय पौडेलको फोन आयो।
कुराकानी लामो भएन, जम्मा ५९ सेकेन्ड मात्रै भयो। तर, त्यो छोटो संवादमा पौडेलले व्यक्त गरेको एउटा आग्रह पाण्डेका लागि अविस्मरणीय बन्यो।
पौडेलले पाण्डेलाई आफ्ना गुरु न्यौपानेसँगको सम्बन्धबारे सोधे। त्यसपछि केही समयका लागि ऋण उपलब्ध गराउन सक्ने सम्भावनाबारे जिज्ञासा राखे।
पाण्डेले आफू चितवनमा रहेको र न्यौपानेसँग पनि लामो समयदेखि कुराकानी नभएको बताए। त्यसपछि पौडेलले ‘ए !’ भन्दै फोन राखे। पाण्डेलाई त्यतिबेला सायद थाहा थिएन, भोलिपल्ट यही छोटो संवादलाई सम्झँदै उनले सामाजिक सञ्जालमा आफ्ना भावना पोख्नुपर्नेछ।
सोमबार उनले सुन्नुपर्यो—डा. विजय पौडेल अब यो संसारमा रहेनन्।
पाण्डेकी पत्नी पूर्ण शोभाले फोन गरेर पौडेलको निधनको खबर सुनाएकी थिइन्। सुरुमा उनले पत्याउन सकेनन्।
फेसबुक खोलेर हेर्दा एकपछि अर्को गर्दै पौडेलको निधनबारेका पोस्ट देखे। अझै विश्वास नलागेपछि उनले नेता घनश्याम भुसाललाई फोन गरे। भुसालले पनि निधनको खबर पुष्टि गरेपछि पाण्डे स्तब्ध बने।
‘हिजो मात्र विजयजीले मलाई १२ बजेर ३७ मिनेटमा कल गर्नुभएको थियो। म चितवनमा छु भनेँ। ५९ सेकेन्ड मेरो कुरा भयो। उहाँ ऋणको तनावमा हुनुहुन्थ्यो,’ पाण्डेले फेसबुकमा लेखेका छन्।
उनका अनुसार पौडेलले फोनमा केही समयका लागि ऋण दिन सक्ने व्यक्तिबारे सोधेका थिए। पाण्डेले न्यौपानेसँग लामो समयदेखि कुराकानी नभएको बताएपछि पौडेलले थप कुरा नगरी फोन राखेका थिए।
‘आजै यस्तो दुःखद समाचार सुन्नुपर्यो,’ पाण्डेले लेखेका छन्, ‘के रे भनेँ मैले। मलाई पत्यारै भएन।’
आर्थिक समस्याले थिचिएका थिए पौडेल
पछिल्लो समय पौडेल आर्थिक समस्यासँग जुधिरहेको निकटस्थहरूको भनाइ छ। उनले सञ्चालन गरेको जनता टेलिभिजन घाटामा गएपछि उनी ऋणको भारमा परेको बताइएको छ।
आर्थिक दायित्व व्यवस्थापन गर्न कठिनाइ भएपछि उनी ऋणको खोजीमा रहेको खुलेको छ।
करोडौँ रुपैयाँ ऋणमा रहेको बताइएका पौडेल केही दिनअघि मात्रै चेक अनादरसम्बन्धी मुद्दामा पक्राउसमेत परेका थिए।
आर्थिक समस्याकै बीच उनले निधन हुनुभन्दा अघिल्लो दिन पनि ऋणका लागि पहल गरेको पाण्डेको भनाइले उनको पछिल्लो अवस्थाबारे थप चर्चा सिर्जना गरेको छ।
अर्थतन्त्रका विषयमा विश्लेषण गर्ने र कम्युनिस्ट राजनीतिमा सक्रिय रहने पौडेलको जीवनको अन्तिम समय आर्थिक दबाबबीच बितिरहेको थियो भन्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।
निधनको कारण पुष्टि हुन बाँकी
पौडेलको निधन हृदयघातका कारण भएको आशंका गरिएको छ। तर, निधनको वास्तविक कारणबारे आधिकारिक पुष्टि भइसकेको छैन।
निधनको अघिल्लो दिन ऋणका लागि गरिएको एउटा छोटो फोन संवाद र त्यसको भोलिपल्ट आएको दुःखद खबरले पाण्डेलाई भावुक बनाएको छ। उनको फेसबुक पोस्टले पौडेलको पछिल्लो आर्थिक अवस्थाबारे पनि सार्वजनिक वृत्तमा चासो बढाएको छ।
‘कमरेड विजयप्रति हार्दिक श्रद्धाञ्जली,’ पाण्डेले लेखेका छन्।
.gif)

.png)



