गड्डाचौकीमा यात्रुको भीड: ४ हजार ७०० को स्वास्थ्य परीक्षण


२०८३ असोज २९ बिहीबार ०९:२१ बजे

कञ्चनपुर : दसैँ–तिहार मनाउन भारतबाट नेपाल फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। 

चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप बढ्ने र सङ्क्रामक रोग भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य परीक्षणलाई निरन्तरता दिइएको हो।

गड्डाचौकीस्थित हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफसलगायत छ प्रकारका रोगको परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टका अनुसार भारतबाट फर्किने यात्रुमा रोगको पहिचान गरी समयमै उपचार गर्न र सङ्क्रमण फैलिन नदिन नाकामै परीक्षणको व्यवस्था गरिएको हो। 

सङ्क्रमण देखिएका व्यक्तिलाई अस्पतालमा लगेर निःशुल्क उपचार गरिने र टाढाका जिल्लाका यात्रुका हकमा सम्बन्धित अस्पतालसँग समन्वय गरिने उनले बताए।

स्वास्थ्य कार्यालयका अनुसार असोज महिनामा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा दुई जनामा क्षयरोग (टीबी) पोजेटिभ देखिएको छ भने अन्यमा सङ्क्रमण पुष्टि भएको छैन।

प्रहरीका अनुसार अहिले गड्डाचौकी नाका हुँदै दैनिक करिब दुई हजार जना नेपाल फर्किरहेका छन्। रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली चाडपर्व मनाउन घर फर्किन थालेपछि नाकामा यात्रुको चाप बढेको हो।

यात्रुको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि न्यूनीकरण गर्न सीमा नाकामा निगरानी बढाइएको जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७