इनमको अनुहारमा बिचौलिया सत्ताको कुरूप चित्र
अदालतदेखि सुरक्षा निकायका उच्च अधिकारीसँग सम्पर्क, भारत र जर्मनीको १५ पटक आवतजावत, थुनामा रहेका व्यवसायीसँग संवाद र प्रधानमन्त्रीको आवागमनसम्बन्धी सूचनाको अनुसन्धान ।
काठमाडौं : राज्य सञ्चालनका आफ्नै विधि हुन्छन्। संविधानले अधिकार बाँड्छ, कानुनले जिम्मेवारी तोक्छ र अदालतले प्रमाणका आधारमा न्याय निरूपण गर्छ। सुरक्षा निकायले संवेदनशील सूचना र सुरक्षाको रक्षा गर्छ भने सरकारले नीतिगत निर्णय गर्छ। सरकारी अधिकारीले तोकिएको प्रक्रियाअनुसार काम गर्नुपर्छ।
लोकतान्त्रिक राज्यको आदर्श यही हो। तर औपचारिक व्यवस्थासँगसँगै अर्को अनौपचारिक संसार पनि विकसित भयो भने के हुन्छ ? जहाँ काम गराउन नियमभन्दा सम्बन्ध, निर्णय गराउन प्रक्रियाभन्दा पहुँच र न्याय पाउन कानुनी आधारभन्दा प्रभावशाली व्यक्तिसँगको चिनजान महत्त्वपूर्ण ठानिन्छ। जहाँ पदमा नभएको व्यक्तिले पदमा बसेका व्यक्तिसम्म पुग्ने आफ्नो सामर्थ्यलाई शक्तिका रूपमा प्रस्तुत गर्छ र त्यही पहुँचको आश्वासन आर्थिक लाभको माध्यम बन्छ।
नेपालमा अहिले सार्वजनिक चासोको केन्द्र बनेको इनम सापकोटा प्रकरणले यही प्रश्नलाई फेरि सतहमा ल्याएको छ। औपचारिक व्यवस्थासँगसँगै अर्को अनौपचारिक संसार अर्थात् सेटिङ्ग र बिचौलियाको दुनियाँमा शक्तिशाली देखिएका छन्, सापकोटा ।
केही समयअघिसम्म सार्वजनिक वृत्तमा खासै परिचित नभएका सापकोटाको नाम अहिले पूर्वप्रधानन्यायाधीश, न्यायिक क्षेत्रका व्यक्ति, सुरक्षा निकायका उच्च अधिकारी, राजनीतिक पहुँच भएका व्यक्तिहरू र विभिन्न मुद्दामा थुनामा रहेका व्यवसायीसँगको सम्पर्कका कारण चर्चामा छ। उनको मोबाइलमा भेटिएका संवाद र सम्पर्क विवरणका आधारमा प्रहरीले सम्भावित न्यायिक चलखेल, संवेदनशील सूचना आदानप्रदान र आर्थिक कारोबारबारे अनुसन्धान अघि बढेकाे छ । उनको मोबाइलमा भेटिएका संवाद र सम्पर्क विवरणका हेर्दा उनले सुरक्षा निकाय, अदालत र राज्यका निकायहरुमा कसरी सेटिङ्ग भइरहेको छ ? त्यो छताछुल्ल भेटिएका छन् ।
यो कुनै एक व्यक्तिको परिचय र गतिविधिको कथा मात्र होइन। राज्यका शक्तिशाली संस्थासँगको पहुँच कसरी प्रयोग भयो, सार्वजनिक पद र निजी स्वार्थबीच कस्तो सम्बन्ध रह्यो र औपचारिक संस्थाबाहिरबाट निर्णय प्रभावित पार्ने प्रयास भएको थियो कि थिएन भन्ने प्रश्नको कथा पनि हो।
सापकोटा दोषी ठहर भइसकेका छैनन्। उनीसँग सम्पर्कमा देखिएका सबै व्यक्ति पनि कुनै कसुरमा संलग्न प्रमाणित भएका छैनन्। तर अनुसन्धानका क्रममा सार्वजनिक भएका विवरणले उठाएका प्रश्न गम्भीर छन्।
इनमको सम्पर्क सञ्जाल : अदालतदेखि सुरक्षा निकायसम्म
२०८३ असोज ११ गते बिहान करिब ३ बजे सशस्त्र प्रहरी बलका तत्कालीन अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल काठमाडौंको टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे। त्यहाँ पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको थियो। दाहाल बिहान ५ बजे कार्यालयबाट फर्किए।
दाहालले आफू सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक भएको परिचय दिएर जबरालाई भेटेको विवरण सार्वजनिक भयो। सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेललाई समेत दाहालको उक्त भेटबारे पहिल्यै जानकारी थिएन। फर्किएपछि भने दाहालले महानिरीक्षकलाई भेटबारे जानकारी गराएको समाचारमा उल्लेख छ।
जबरासँगको भेट र इनम सापकोटासँगको सम्पर्कसम्बन्धी विवरण सार्वजनिक भएपछि दाहालमाथि छानबिन भयो। गृह मन्त्रालयले छानबिन प्रतिवेदनका आधारमा उनलाई सेवाबाट बर्खास्त गरेको विवरण सार्वजनिक भएको छ।
यो घटनाले इनम सापकोटाको सम्पर्क सञ्जाललाई सार्वजनिक बहसमा ल्यायो। अनुसन्धानका क्रममा उनको मोबाइलमा भेटिएका संवादले पूर्वप्रधानन्यायाधीश, न्यायिक क्षेत्रका व्यक्ति, सुरक्षा निकायका उच्च अधिकारी, राजनीतिज्ञ र विभिन्न मुद्दामा थुनामा रहेका व्यवसायीसँगको सम्पर्कबारे प्रश्न उठाए।
इनम सापकोटासँग सम्पर्क रहेको बताइएका व्यक्तिहरूको सूची :-
न्यायिक क्षेत्र :-
|
क्र.सं. |
नाम |
पद वा परिचय |
|---|---|---|
|
१ |
चोलेन्द्रशमशेर जबरा |
पूर्वप्रधानन्यायाधीश |
|
२ |
दीपक तिमिल्सिना |
अदालतमा बिचौलियाको भूमिका खेलेको आरोप लागेका व्यक्ति |
|
३ |
प्रभुशमशेर जबरा |
चोलेन्द्रशमशेर जबराका भाइ |
|
५ |
अन्य केही न्यायाधीश |
नाम सार्वजनिक विवरणमा स्पष्ट नखुलेका |
सुरक्षा निकाय :-
|
क्र.सं. |
नाम |
पद वा परिचय |
|---|---|---|
|
६ |
वंशी राज दाहाल |
सशस्त्र प्रहरीका तत्कालीन अतिरिक्त महानिरीक्षक |
|
७ |
अन्य उच्च सुरक्षा अधिकारी |
नाम सार्वजनिक विवरणमा स्पष्ट नखुलेका |
|
८ |
एक कनिष्ठ प्रहरी अधिकृत |
प्रहरी पोसाक तथा खरिदसम्बन्धी कुराकानी भएको बताइएको |
व्यवसायी तथा थुनामा रहेका व्यक्ति
|
क्र.सं. |
नाम |
परिचय |
|---|---|---|
|
९ |
दीपक भट्ट |
सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी |
|
१० |
सुलभ अग्रवाल |
व्यवसायी |
|
११ |
नवीनराज बस्नेत |
व्यवसायी |
|
१२ |
दीपक भट्टका परिवारका अर्का सदस्य |
नाम सार्वजनिक विवरणमा स्पष्ट नखुलेका |
राजनीतिक क्षेत्र :-
|
क्र.सं. |
नाम |
पद वा परिचय |
|---|---|---|
|
१३ |
बालकृष्ण खाण |
पूर्वगृहमन्त्री |
|
१४ |
दीपक खड्का |
पूर्वमन्त्री |
|
१५ |
उमेश श्रेष्ठ |
नेपाली कांग्रेसका नेता तथा व्यवसायी |
|
१६ |
शेरबहादुर देउवानिकट केही नेता |
|
विमानस्थलबाट पक्राउ
सापकोटालाई २०८३ असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको विवरण सार्वजनिक भएको छ। उनी भारतको नयाँदिल्ली जान लागेका बेला प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लियाे । सापकोटाले पेट दुखेकाले स्वास्थ्य परीक्षण गराउन दिल्ली जान लागेको बताएका थिए। प्रहरीले भने उनको यात्रा र सम्पर्क सञ्जालबारे अनुसन्धान अघि बढाएको थियो।
सापकोटाको खोजीको आधार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षणका क्रममा भेटिएको सम्पर्क विवरण थियो। जबराको मोबाइलमा सापकोटासँग पटकपटक कुराकानी भएको विवरण भेटिएपछि प्रहरीले उनको खोजी थालेको थियो।
दस वर्षमा भारत र जर्मनीका १५ यात्रा
गृह मन्त्रालयबाट प्राप्त यात्रा विवरणका आधारमा अनुसन्धानमा संलग्न अधिकारीहरूले सापकोटाले पछिल्लो दस वर्षमा भारत र जर्मनी गरी १५ पटक आवतजावत गरेको बताएका छन्। उनको विदेश यात्राको उद्देश्य, त्यहाँ भएका भेटघाट र ती यात्राको अन्य व्यक्तिसँगको सम्पर्कसँग सम्बन्धबारे अनुसन्धान भइरहेको छ।
-
२०७३ पुस ७ गते : भारतको पहिलो यात्रा।
-
२०७८ भदौ २३ गते : जर्मनी गएको विवरण।
-
२०८० जेठ १९ गते : जर्मनीबाट नेपाल फर्किएको विवरण।
-
२०८० असार २५ गते : नेपालबाट जर्मनी गएको विवरण।
-
२०८० असोज १० गते : जर्मनीबाट नेपाल फर्किएको विवरण।
-
२०८२ असार ३१ गते : नयाँ दिल्ली गएको विवरण।
-
२०८२ साउन ५ गते : भारतबाट काठमाडौं फर्किएको विवरण।
-
२०८३ साउन २३ गते : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली गएको विवरण।
-
२०८३ साउन २७ गते : भारतबाट नेपाल फर्किएको विवरण।
-
२०८३ असोज १४ गते : नयाँ दिल्ली जान लागेको अवस्थामा विमानस्थलबाट पक्राउ।
सिंगापुरमा कम्पनी, दुबईमा आवासीय सम्पत्ति
सापकोटाको विदेश आवतजावतसँगै उनको नाममा विदेशमा सम्पत्ति रहेको विवरण पनि सार्वजनिक भएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, सापकोटाको नाममा सिंगापुरमा कम्पनी र दुबईमा आवासीय सम्पत्ति रहेको बताइएको छ। सापकोटाको सम्पर्क सञ्जाल सार्वजनिक हुनुको मुख्य आधार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षण थियो। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, जबरा र सापकोटाबीच पटकपटक सम्पर्क भएको विवरण भेटिएको थियो।
सापकोटाले प्रहरीसँगको सोधपुछमा जबराका छोरा सचिन्द्रशमशेर जबरासँग विद्यालयमा पढ्दादेखिको चिनजान रहेको बताएका थिए। दुवैजना ललितपुरस्थित लिटल एन्जल्स विद्यालयसँग सम्बन्धित थिए। सचिन्द्र आफूभन्दा वरिष्ठ विद्यार्थी रहेको र त्यही सम्बन्धबाट जबरासँग चिनजान भएको सापकोटाको भनाइ थियो। अनुसन्धानकर्ताहरूले यही व्यक्तिगत चिनजानबाट सापकोटाको सम्बन्ध अन्य प्रभावशाली व्यक्तिसम्म विस्तार भएको हुन सक्ने विषयमा अनुसन्धान गरेका थिए।
थुनामा रहेका व्यवसायीसँग संवाद
सापकोटाको मोबाइलमा नक्खु कारागारबाट समेत सम्पर्क भएको विवरण भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारमा उल्लेख छ। उनको सम्पर्कमा सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी आरोपमा थुनामा रहेका व्यवसायी दीपक भट्ट तथा अर्का व्यवसायी सुलभ अग्रवालसँग सम्बन्धित विवरण सार्वजनिक भएका थिए।
दीपक भट्टले कारागारबाट सापकोटालाई दूरभाष सम्पर्क गरेको विवरण भेटिएको थियो। सापकोटाले भट्ट र जबराबीच सम्पर्क तथा सूचना आदानप्रदान गराउने माध्यमका रूपमा भूमिका खेलेका थिए कि थिएनन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरेको थियो।
३० करोड रुपैयाँको मिलेमतो
दीपक भट्टलाई थुनामुक्त गराउने प्रयाससँग जोडेर ३० करोडको डिल भएको संवाद आदनप्रादन भएको सुरक्षा अधिकारीहरुको भनाई छ ।सापकोटाको बयान तथा उनीसँगको सम्पर्क र सन्देशका आधारमा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको विवरण सार्वजनिक भएको थियो। सुशील भट्ट व्यवसायी दीपक भट्टका दाइ हुन्।
सापकोटाको मोबाइलमा दीपक तिमिल्सिना, प्रभुशमशेर जबरा र नवीनराज बस्नेतसँग पनि कुराकानी भएको विवरण भेटिएको अनुसन्धानमा संग्लन अधिकारीहरुले बताएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०८३ असोज २२ गते यी व्यक्तिहरूसँग सम्बन्धित निवासमा छापा मारी कागजात तथा अन्य सामग्री नियन्त्रणमा लिएको छ ।
राजनीतिज्ञसँग पनि सम्पर्क
सापकोटाको मोबाइलमा राजनीतिज्ञहरूसँग कुराकानी भएको विवरण पनि सार्वजनिक भएको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री दीपक खड्का र नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ लगायतसँग उनकाे बारम्बार कुराकानी भएको बताइन्छ ।
कांग्रेसको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको समयमा देउवानिकट केही नेतासँग पनि सापकोटाको कुराकानी भएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाई छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, सापकोटाको मोबाइलमा प्रहरीका उच्च अधिकारी तथा बढुवाको प्रतीक्षामा रहेका व्यक्तिसँग कुराकानी भएको विवरण भेटिएको छ । केही अधिकारीले बढुवामा सहयोग खोजेको र मुद्दामा परेका व्यक्तिले अदालतमा काम मिलाइदिन सकिन्छ कि भनेर सम्पर्क गरेको देखिएको प्रहरीको दाबी छ।
उनले सुरक्षा निकायका कनिष्ठ अधिकारीसँग पोसाक खरिदसम्बन्धी ठेक्कापट्टाबारे कुराकानी गरेको विवरण पनि सार्वजनिक भएको छ। एक सुरक्षा अधिकारीले सापकोटाले आफूलाई दूतावासमा काम गर्ने चिकित्सकका रूपमा चिनाउँदै आएको बताएका थिए।
सापकोटा प्रकरणमा सुरक्षा निकायसँग सम्बन्धित संवेदनशील विषय प्रधानमन्त्री वालेन्द्र शाहको सरकारी निवास बालुवाटारबाट बाहिरिने समयबारेको सूचना हो।
सापकोटाको मोबाइलमा प्रधानमन्त्री बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएको दुई घटनासँग सम्बन्धित सूचना सन्देशमार्फत आदानप्रदान भएको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।
.gif)

.png)



