एमाले निकट अनेरास्ववियुमा विवाद चर्कियो, महासचिवको सर्कुलरविरुद्ध ५ पदाधिकारी
सहमतिविपरीत महासचिवले एकलौटी रूपमा सर्कुलर जारी गरेको उनीहरूको आरोप ।
काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुभित्रको विवाद सतहमा आएको छ। महासचिवले हालै जारी गरेको सर्कुलरलाई ‘अवैधानिक र स्वेच्छाचारी’ भन्दै उपाध्यक्षसहित पाँच जना केन्द्रीय पदाधिकारीले आपत्ति जनाएका छन्।
उपाध्यक्ष विकास श्रेष्ठ, उपमहासचिव कमल जोशी तथा सचिवहरू आकाश घर्ती, समिम बाबु खान र गोपाल नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै सर्कुलर संस्थागत निर्णयविपरीत रहेको दाबी गरेका हुन्।
उनीहरूका अनुसार गत असोज २२ गते आरआर क्याम्पसमा अध्यक्ष दीपक धामीको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं विद्यार्थी इन्चार्ज रश्मि आचार्यको प्रमुख आतिथ्यतामा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकमा भएको सहमतिविपरीत महासचिवले एकलौटी रूपमा सर्कुलर जारी गरेको उनीहरूको आरोप छ।
विज्ञप्तिमा सर्कुलरमार्फत निर्वाचित पदाधिकारीलाई सुनुवाइको अवसरसमेत नदिई जिम्मेवारीबाट हटाइएको र मापदण्डविपरीत नयाँ मनोनयन गरिएको उल्लेख छ। यसले सामूहिक नेतृत्व र संगठनात्मक पद्धतिको मर्ममाथि प्रहार गरेको भन्दै उनीहरूले संगठनभन्दा व्यक्ति हाबी भएको आरोप लगाएका छन्।
अनेरास्ववियुले यसअघि लामो समय बैठकमा अनुपस्थित रहेका, जिम्मेवारी पूरा नगरेका तथा सम्पर्कविहीन भएको भन्दै सचिवालय र केन्द्रीय कमिटीका सदस्य गरी ५० जनालाई जिम्मेवारीबाट हटाएको थियो।
पाँच पदाधिकारीले सर्कुलरका कारण देशभरका नेता–कार्यकर्तामा निराशा र अन्योल बढेको बताएका छन्। उनीहरूले संगठनभित्र उत्पन्न विवाद समाधान गर्न देशभरका कार्यकर्ताको भावना र सुझाव समेटेर छिट्टै वैधानिक रूपमा औपचारिक पदाधिकारी बैठक बोलाउने जनाएका छन्।
उक्त बैठकमा संगठनको हित र विद्यार्थी आन्दोलनको मर्मअनुसार छलफल गरी सबैलाई न्यायको प्रत्याभूति हुने गरी नयाँ सर्कुलर जारी गर्ने प्रतिबद्धतासमेत उनीहरूले व्यक्त गरेका छन्। ‘संगठन विधि र पद्धतिमा चल्नुपर्छ, कसैको व्यक्तिगत इच्छामा होइन,’ विज्ञप्तिमा भनिएको छ।


.gif)

.png)



