जनकपुरमा विश्व स्वास्थ्य सम्मेलन हुँदै
काठमाडौं : विदेशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ आगामी डिसेम्बर ४ र ५ (मंसिर १८ र १९) गते जनकपुरधाममा आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मधेश प्रदेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनको मुख्य नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ रहेको छ। नेपाललाई दक्ष जनशक्ति पलायनको अवस्थाबाट ज्ञान र सीपको आदानप्रदानमार्फत लाभ लिन सक्ने दिशामा अघि बढाउने सम्मेलनको लक्ष्य छ।
सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. सुनील साहले विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीको अनुभव स्वदेशमा उपयोग गर्न उपयुक्त वातावरण निर्माणबारे छलफल गरिने बताए।
सम्मेलनबाट विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबीच साझेदारी, मेन्टरसिप, डिजिटल स्वास्थ्य र लगानीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्रा. डा. पदम सिम्खडाका अनुसार प्रख्यात जनस्वास्थ्यविद् प्रा. जेनी ह्यारिससहित ५० जनाभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिक सहभागी हुनेछन्। सम्मेलनमा मधेश प्रदेशका स्वास्थ्य सूचक सुधार गर्ने उपायबारे पनि छलफल हुनेछ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विश्वभर रहेका नेपाली स्वास्थ्य विज्ञको ज्ञान, सीप र सञ्जाललाई नेपालको हितमा उपयोग गर्न सम्मेलन महत्वपूर्ण हुने बताए।
सम्मेलनमा चिकित्सक, नर्स, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, सरकारी प्रतिनिधि तथा निजी क्षेत्रका व्यक्तिसहित करिब ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्मेलनमा विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई स्वदेशको स्वास्थ्य प्रणालीमा योगदान गर्ने अवसर सिर्जना गर्ने, टेलिमेडिसिन तथा प्रविधि हस्तान्तरण प्रवर्द्धन गर्ने र स्वास्थ्य सेवाको पहुँच कमजोर भएका क्षेत्रमा सेवा सुदृढ गर्ने विषयलाई प्राथमिकता दिइनेछ।
सम्मेलनको प्रमुख उपलब्धिका रूपमा ‘जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोल्याबरेसन २०२६’ जारी गर्ने तथा अनुसन्धान, शिक्षा र स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि ‘जनकपुर ग्लोबल हेल्थ नेटवर्क’ स्थापना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स यसअघि अमेरिका, बेलायत, अस्ट्रेलिया र जापानमा आयोजना भइसकेको छ। छैटौँ संस्करण भने पहिलोपटक नेपालमा हुन लागेको हो।
.gif)

.png)



