टाइगर श्राफको कारमा गोली चलाउने तीन पक्राउ
नेपाल भाग्ने तयारीमा रहेको प्रहरीको दाबी
काठमाडौं : बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। राजस्थानको कोटा सहरबाट सोमबार पक्राउ परेका उनीहरू दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेको भारतीय प्रहरीले जनाएको छ।
घटनामा अभिनेता श्राफका चालक फिरदौस र अर्का एक व्यक्ति घाइते भएका छन्। प्रहरीले श्राफ सुरक्षित रहेको र उनलाई कुनै चोट नलागेको स्पष्ट पारेको छ।
बीबीसी न्युज मराठीका अनुसार, मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू प्रहरी थाना क्षेत्रमा आइतबार साँझ गोली प्रहार भएको थियो। व्यक्तिगत कामका लागि त्यहाँ पुगेका श्राफ काम सकेर फर्कने क्रममा उनको कारमाथि गोली चलाइएको थियो। चालक फिरदौसको बायाँ हातमा गोली लागेको थियो भने अर्का घाइते श्राफका एक प्रशंसक रहेको बताइएको छ।
प्रत्यक्षदर्शी शाहरुख शेखका अनुसार, दुई जना व्यक्ति एउटा गाडीबाट ओर्लिएर गोली प्रहार गरेपछि त्यही गाडीमा चढेर नेहरूनगरतर्फ भागेका थिए। उनका अनुसार, एउटा गोली चालकलाई र अर्को पछाडि रहेका प्रशंसकलाई लागेको थियो।
चालक घाइते भएपछि श्राफ आफैँ चालकको सिटमा सरेर गाडी चलाएको पनि प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीले भने अभिनेता श्राफलाई गोली नलागेको र उनी घाइते नभएको पुष्टि गरेको छ।
घटनापछि मुम्बई प्रहरीले अनुसन्धानका लागि विभिन्न टोली परिचालन गरेको थियो। गोली प्रहारको उद्देश्य, प्रयोग गरिएको हतियार र घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाल भाग्ने तयारीमा थिए आरोपित
कोटा सहरकी प्रहरी उपरीक्षक तेजस्विनी गौतमले बीबीसी न्युज हिन्दीलाई दिएको जानकारीअनुसार, कोटा सिटी प्रहरीले स्थानीय समयअनुसार सोमबार बिहान करिब साढे ११ बजे तीनै जनालाई पक्राउ गरेको हो।
गौतमका अनुसार, पक्राउ परेका तीनै जना पहिले दिल्ली र त्यसपछि नेपाल भाग्ने तयारीमा थिए। उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ। पक्राउ परेकाहरूको साथबाट हालसम्म हतियार बरामद नभएको प्रहरीले जनाएको छ। गोली प्रहारमा उनीहरूको भूमिका, घटनाको उद्देश्य र प्रयोग गरिएको हतियारबारे थप अनुसन्धान भइरहेको छ।
घटनापछि महाराष्ट्रको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठाइएको छ। भारतीय राष्ट्रिय कांग्रेस र शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टीले राज्य सरकारले सर्वसाधारणलाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन्। एआईएमआईएमका नेता वारिस पठानले घटनालाई ‘कानुन व्यवस्थाको पूर्ण विफलता’ भनेका छन्। मुम्बईका प्रहरी उपायुक्त मोहित गर्गले घटनाको अनुसन्धानका लागि विभिन्न टोली परिचालन गरिएको बताएका छन्।
.gif)

.png)



