जनसङ्ख्या बढाउन ६ महिनाको तलबसहित सुत्केरी बिदा प्रस्ताव: स्वास्थ्यमन्त्री
काठमाडौं : घट्दो जनसङ्ख्या वृद्धिदरलाई बढाउन सरकारले महिलालाई ६ महिनाको तलबसहित सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक प्रस्तुत गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसङ्ख्या वृद्धिका लागि सुत्केरी बिदासहित प्रोत्साहनका व्यवस्था गर्न ऐन संशोधन गर्न लागिएको बताइन्।
प्रस्तावित विधेयकमा सरकारी, गैरसरकारी तथा निजी निकायमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको बिदा दिने व्यवस्था गरिएको छ। यस्तै, पुरुष कर्मचारीकी पत्नी सुत्केरी भएमा ४२ दिनको तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको मन्त्री मेहताले जानकारी दिइन्।
मन्त्री मेहताका अनुसार जनगणनाले देशको जनसङ्ख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेको देखाएकाले जनसङ्ख्या वृद्धि प्रोत्साहन गर्न विद्यमान कानुनी व्यवस्था संशोधन आवश्यक भएको हो।
विधेयकमा विशेष अवस्थामा गरिने गर्भपतनसम्बन्धी प्रावधान थप तथा संशोधन गर्ने, बलपूर्वक गरिने गर्भपतनको अवस्था स्पष्ट पार्ने तथा त्यस्ता कार्यलाई कसुर मानी सजायको व्यवस्था गर्ने विषयसमेत समेटिएको छ।
.gif)

.png)


