२ करोड ५१ लाखको सुनका गरगहना सहित एक महिला पक्राउ
काठमाडौं : भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २ करोड ५१ लाख ९३ हजार रुपैयाँभन्दा बढी मूल्यको सुनका गहनासहित एक महिला पक्राउ परेकी छन्।
विशेष सूचनाका आधारमा सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा जाँच गर्दा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको टोलीले नियन्त्रणमा लिएको हो।
बुधबार राति करिब ८ बजे सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले पटेलको साथबाट २ किलो ६०५ ग्राम तौलका सुनजस्ता देखिने विभिन्न गरगहना बरामद गरेको थियो।
बिहीबार सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा परीक्षण गर्दा ती गहनाबाट १ किलो शुद्ध सुन रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त सुनको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ।
बरामद गरिएका गहनामा हार, औंठी, चुरा, माला, सिक्री, झुम्का, लकेट, पोते, बाली, टप, नाकको फूली, ब्रासलेटलगायत विभिन्न प्रकारका गरगहना रहेका छन्।
पक्राउ परेकी पटेललाई बरामद सुनका सम्पूर्ण गहनासहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
.gif)

.png)


