चोलेन्द्र पक्राउ प्रकरणमा सर्वोच्चले भन्यो  : न्यायिक स्वतन्त्रतामा असर पर्ने गतिविधि नगरियोस्


२०८३ असोज १२ सोमबार २३:१२ बजे

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट प्रहरी कार्यालय लगिएको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सर्वोच्चले सोमबार प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च अदालतले स्वतन्त्र र सक्षम न्यायपालिका लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्य भएको उल्लेख गर्दै न्यायिक स्वतन्त्रताको संरक्षणमा संवेदनशील हुन सबै सरोकारवालालाई आग्रह गरेको हो।

पूर्वप्रधान न्यायाधीश, पूर्वन्यायाधीश तथा बहालवाला न्यायाधीशमाथि हुने कुनैपनि हस्तक्षेपले न्यायिक स्वतन्त्रताप्रतिको जनविश्वासमा असर पार्न सक्ने सर्वोच्चले जनाएको छ। त्यसैले न्यायपालिकाको स्वतन्त्रता र मर्यादा कायम राख्न आवश्यक सावधानी अपनाउनुपर्ने अदालतको भनाइ छ।

विज्ञप्तिमा कुनै पनि नागरिकको वैयक्तिक स्वतन्त्रता कानुनले निर्धारण गरेको उचित प्रक्रिया पूरा गरेर मात्र नियन्त्रणमा लिन सकिने कुरा पनि सर्वोच्चले स्मरण गराएको छ।

न्यायपालिकाबाट हुने न्याय सम्पादनमा बाह्य वा आन्तरिक प्रभाव पर्न नदिन सबै सरोकारवालालाई आग्रह गर्दै सर्वोच्चले संविधान र कानुनअनुसार न्यायिक प्रक्रियाको सम्मान गर्नुपर्नेमा जोड दिएको छ।

प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा उक्त धारणा सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार सार्वजनिक गरिएको उल्लेख छ।

हेर्नुहोस् विज्ञप्तिः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७