चोलेन्द्र पक्राउ प्रकरणमा एसएसपी खड्काको बयान, आदेशअनुसार काम गरेको हुँ
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई शयन कक्षबाट नियन्त्रणमा लिएको घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन्।
मंगलबार आयोगमा बयान दिँदै खड्काले आफूले ‘आदेश पालना गरेको’ बताएका छन्। राणालाई नियन्त्रणमा लिने क्रममा आफूले गरेका सबै काम आदेशअनुसार भएको उनको बयान छ ।
आइतबार मध्यराति एसपी खड्काको नेतृत्वमा प्रहरी टोली राणाको निवास पुगेको थियो। टोलीले उनलाई शयन कक्षबाटै नियन्त्रणमा लिएर शनिबार रातिदेखि आइतबार अपराह्नसम्म अपराध अनुसन्धान कार्यालयमा राखेको थियो।
राणालाई नियन्त्रणमा राखिएको स्थानमा अनुगमनका लागि पुगेको मानव अधिकार आयोगको टोलीलाई समेत उनलाई भेट्न अनुमति दिइएको थिएन। यही विषयलाई समेत आयोगले अनुसन्धानको दायरामा राखेको छ।
आयोगमा कार्यरत उपसचिवस्तरकी अनुसन्धान अधिकृतले एसएसपी खड्कासँग बयान लिएकी हुन्। बयानपछि उनी आयोगबाट बाहिरिएका छन्।
खड्काको बयान प्रारम्भिक चरणको अनुसन्धानअन्तर्गत लिइएको आयोग स्रोतले जानकारी दिएको छ। घटनामा प्रहरीलाई दिइएको आदेश, राणालाई नियन्त्रणमा लिने प्रक्रिया तथा आयोगको अनुगमन टोलीलाई भेट्न नदिएको विषयमा अनुसन्धान जारी रहेको छ ।
आवश्यकताअनुसार घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा निकायका अधिकारीसँग पनि बयान लिइने आयोग स्रोतले जनाएको छ ।
.gif)

.png)


