चाइना बोर्डरमा रोकिएको सामान छुटाउन २८ लाख घुस, खाद्य अधिकृतविरुद्ध मुद्दा
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।
आयोगले सोमबार २८ लाख २० हजार ३७५ रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
चीनतर्फको सीमामा रोकिएको सामान आयातका लागि स्वीकृति दिलाउने तथा खाद्य आयात अनुमति सहजीकरण गरिदिने भन्दै अधिकारीले विभिन्न व्यक्ति तथा कम्पनीसँग सम्बन्धित व्यक्तिसँग घुस रकम मागेको अख्तियारले जनाएको छ।
अनुसन्धानका क्रममा अधिकारीसहित बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठको संलग्नतामा विभिन्न बैंक खाता तथा क्यूआरमार्फत रकम संकलन गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अधिकारीको नेपाल बैंक खातामा २५ हजार र प्रभु बैंक खातामा १ लाख १४ हजार रुपैयाँ जम्मा भएको थियो।
बस्याल क्षेत्रीको माछापुच्छ्रे बैंक खातामा ८ लाख ९४ हजार ५००, रश्मिता श्रेष्ठको ग्लोबल आइएमई बैंक खातामा १४ लाख ९३ हजार ३७५ र सुरेश चौधरीको प्रभु बैंक खातामा २ लाख ६९ हजार रुपैयाँ जम्मा भएको थियो।
यी सबै रकम गरी २८ लाख २० हजार ३७५ रुपैयाँ घुसबापत संकलन तथा प्रयोग भएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको दाबी छ।
अख्तियारले अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अन्तर्गत मुख्य कसुरदार कायम गरी बिगोबमोजिम जरिवाना तथा कैद सजाय मागदाबी गरेको छ।
त्यस्तै, बस्याल क्षेत्री, चौधरी र श्रेष्ठलाई गैरकानुनी लाभ लिने प्रकृतिको मतियारका रूपमा दफा २२ अन्तर्गत कसुर कायम गरी मुख्य कसुरदारसरह सजाय माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
.gif)

.png)


