बाढीपहिरोमा सेनाको सक्रियता : उद्धारसँगै अवरुद्ध सडक खुलाउन तीव्रता


२०८३ असोज १२ सोमबार २२:४४ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबान भएपछि नेपाली सेनाले खोज, उद्धार, राहत तथा जोखिम न्यूनीकरणका कामलाई तीव्रता दिएको छ।

वर्षाका कारण जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने, अवरुद्ध सडक खुलाउने तथा सम्भावित जोखिम घटाउने काम विभिन्न स्थानमा भइरहेको सेनाले जनाएको छ। 

सेनाको हेलिकप्टरमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारबाट १८ जना र वडा नं. ६ तथा धौसेखर्कबाट १० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

त्यस्तै, पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा जोखिमका कारण स्थानान्तरण गरिएका स्थानीयलाई नयाँ रणभीम गुल्मबाट खटिएको सेनाको टोलीले स्थानीय तहसँगको समन्वयमा खाद्यान्न तथा राहत सामग्री वितरण गर्नुका साथै अस्थायी क्याम्प निर्माणमा सहयोग गरेको छ।

बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोला र बडिगाड गाउँपालिका–३ चिसापानीमा पनि सेनाको हेलिकप्टरमार्फत खाद्यान्न तथा अस्थायी बसोबासका आवश्यक सामग्री पुर्‍याइएको सेनाले जनाएको छ।

यसैबीच अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएका सडक खुलाउन पनि नेपाली सेनाको टोली परिचालन भएको छ। बागलुङको गलकोट नगरपालिका–१ काफ्लठुटामा पहिरोले अवरुद्ध सडक खुलाउन कालीजंग गणबाट खटिएको टोलीले सहयोग गरेको छ।

त्यस्तै, मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक तथा पर्वतको कुश्मा नगरपालिका–१ स्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि गुरूगोरख गुल्मबाट खटिएको सेनाको टोलीले सडक सञ्चालनमा ल्याउन सहयोग गरिरहेको छ।

मनाङको चामे गाउँपालिका–४ माडाकुनास्थित प्रदेश अस्पतालमाथिको पहाडबाट ठूलो पहिरो खस्दा लमजुङतर्फबाट बग्ने खोलामा माटो तथा ढुंगा थुप्रिएर मर्स्याङ्दी नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएको छ।

उक्त क्षेत्रमा नयाँ भैरवी दल गुल्मबाट खटिएको सेनाको टोलीले स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा खोलामा थुप्रिएको लेदो तथा ढुंगा हटाउने काम गरिरहेको छ। सेनाले यसलाई नदीको बहाव थप अवरुद्ध भएर सम्भावित जोखिम बढ्न नदिन गरिएको जोखिम न्यूनीकरणको कामका रूपमा लिएको छ।

वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीको पुलको पिल्लर तथा पुलको सतहमुनि कोल्टिएर अड्किएको दुई तले ‘राइनो क्रुज’ डुंगा पनि सुरक्षित रूपमा हटाइएको छ।

नयाँ सबुज गण र नं. १ विपद् व्यवस्थापन गणबाट खटिएको उद्धार टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायसँगको समन्वयमा क्रेन, एक्साभेटरलगायतका उपकरण प्रयोग गरी डुंगालाई पुलको पिल्लरबाट सुरक्षित दूरीमा सारेको सेनाले जनाएको छ।

सेनाले वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानको अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार खोज तथा उद्धार, राहत सामग्री ढुवानी, सडक सञ्चालन र जोखिम न्यूनीकरणका कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७