बेपत्ता बालबालिकाको खोजी तथा शिक्षाको सुनिश्चितता गर्न ध्यानाकर्षण
काठमाडौं : सशस्त्र द्वन्द्व, हिंसा, आन्दोलन तथा प्राकृतिक विपद्का कारण सबैभन्दा बढी प्रभावित हुने बालबालिकाको सुरक्षा र संरक्षणका लागि राज्यले पूर्वतयारीमा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
६२औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को आयोजनामा काठमाडौंको सिनामंगलस्थित शान्ति बालबालिका पार्कमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी वक्ताहरूले बालबालिकाको संरक्षणका लागि तीनै तहका सरकार थप संवेदनशील बन्नुपर्ने बताएका हुन्।
सशस्त्र द्वन्द्व, जेन्जी प्रदर्शन, विभिन्न आन्दोलन तथा विपद्का क्रममा मृत्यु भएका बालबालिका तथा किशोरकिशोरीको सम्झनामा आयोजित कार्यक्रममा बालबालिकाका क्षेत्रमा क्रियाशील विभिन्न नागरिक संघसंस्था तथा सञ्जालका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जस्तोसुकै द्वन्द्व, हिंसा, आन्दोलन वा विपद्बाट बालबालिका सबैभन्दा बढी पीडित र प्रभावित हुने वर्गमा पर्ने भएकाले उनीहरूको सुरक्षालाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताए।
बालबालिकाको सुरक्षामा आवश्यक लगानी हुन नसकेको र विपद् आउनुअघि गर्नुपर्ने पूर्वतयारीसमेत पर्याप्त नभएकोतर्फ ध्यानाकर्षण गराउँदै पौडेलले घटना भएपछि मात्र उद्धार तथा राहतमा केन्द्रित हुनुको सट्टा घटना हुनुअघि नै जोखिम न्यूनीकरण र रोकथाम गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
त्यस अवसरमा कार्यक्रममा भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अवस्थाप्रति विशेष चिन्ता व्यक्त गरिएको थियो। बाढीमा अभिभावक बेपत्ता भएका बालबालिका, आफैं हराइरहेका बालबालिका तथा आफ्ना सन्तानको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका अभिभावकलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने सहभागीहरूले बताएका थिए।
विपद्को अवस्थामा परिवार र समुदायको संरक्षणबाट छुटेका बालबालिका थप जोखिममा पर्ने भन्दै उनीहरूलाई लक्षित गरी विशेष संरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको थियो। बाढीबाट प्रभावित बालबालिकाहरू बालविवाह, बालश्रम तथा बालबालिका बेचबिखन बढ्न सक्ने जोखिम रहेको भन्दै प्रभावित क्षेत्रमा निरन्तर अनुगमन र बाल संरक्षण संयन्त्र परिचालन गर्नुपर्ने सहभागीहरूको भनाइ थियो।
त्यस्तै, गर्भवती तथा सुत्केरी महिला र अपाङ्गता भएका बालबालिकाको अवस्था विपद्का समयमा अझ जटिल हुने भएकाले उनीहरूका लागि विशेष राहत, स्वास्थ्य सेवा तथा संरक्षणको व्यवस्था गर्नुपर्ने बताइएको थियो।
कार्यक्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनका लागि बाल संरक्षण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने माग गरिएको थियो। विपद्का क्रममा बेपत्ता भएका बालबालिकाको तत्काल खोजी गर्नुपर्ने, परिवारबाट छुट्टिएका बालबालिकाको पहिचान गरी सुरक्षित व्यवस्थापन गर्नुपर्ने तथा सम्भव भएसम्म परिवारसँग पुनर्मिलन गराउनुपर्नेमा वक्ताहरूले जोड दिए।
विपद्का कारण विद्यालय तथा शैक्षिक पूर्वाधारमा क्षति पुगेका क्षेत्रमा बालबालिकाको पठनपाठन प्रभावित हुन नदिन वैकल्पिक शैक्षिक व्यवस्था र आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिए। बालबालिकालाई लामो समयसम्म शिक्षाबाट वञ्चित हुन नदिने गरी संघ, प्रदेश र स्थानीय सरकारले समन्वयमा योजना बनाउनुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा बालबालिकाका सवाललाई प्रभावकारी रूपमा सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गरी प्रभावकारी रूपमा काम गर्नुपर्ने आवाज उठाइएको थियो। बालअधिकारको संरक्षण, अनुगमन तथा विपद्का समयमा बालबालिकामाथि हुन सक्ने हिंसा र शोषण रोक्न स्पष्ट जिम्मेवारीसहितको प्रभावकारी संयन्त्र आवश्यक रहेको वक्ताहरूले बताएका थिए। कार्यक्रममा सिनामंगलस्थित बालबालिका शान्ति पार्कको पुनर्निर्माण गर्नुपर्ने मागसमेत गरिएको थियो।
कार्यक्रममा ज्ञानकुञ्ज बाल क्लबकी पूर्वउपाध्यक्ष आयुषा पाण्डे, राष्ट्रिय बाल पैरवी परिषद्का कृष्ण शाह, एटविन तथा बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जालका तर्फबाट बेनुमाया गुरुङ, सिविनका कुमार भट्टराई, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, राष्ट्रिय बालअधिकार परिषद्का श्रीराम अधिकारी र सिजपका राजु घिमिरेलगायतले राष्ट्रिय बाल दिवस तथा बालबालिकाका सवालमा धारणा राखेका थिए।
राष्ट्रिय बाल दिवसका अवसरमा प्रत्येक वर्ष भदौ २९ गते बालबालिका शान्ति पार्कमा द्वन्द्व, हिंसा, आन्दोलन तथा विभिन्न विपद्का क्रममा ज्यान गुमाएका बालबालिका तथा किशोरकिशोरीको सम्झनामा दीप प्रज्वलन गर्ने परम्परा रहँदै आएको छ।
.gif)

.png)

