त्रिशूली–३ ‘ए’ उद्धार प्रयासः प्राविधिकले गराए सरकारको ध्यानाकर्षण


२०८३ भदौ १६ मंगलबार ०८:५९ बजे

काठमाडौं : त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका प्राविधिकहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यमा प्राविधिकको सुझावअनुसार अघि बढ्न सरकारसँग आग्रह गरेका छन्। 

उद्धारमा ढिलाइ भइरहेको भन्दै सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै मगरले प्राविधिक आवश्यक छ भने उनीहरूको सुझावअनुसार काम गर्नुपर्ने बताएका छन्। प्राविधिकको सुझाव कार्यान्वयन गर्न नसक्ने भए उनीहरूलाई उद्धारमा नबोलाउनसमेत उनले आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस्, यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नु हुँदैन भने प्राविधिक नै नबोलाउनुस्।’

मगरका अनुसार उद्धार अभियान सुरु भएको ६ दिन बितिसक्दा पनि सुरुङभित्र प्रवेश गर्न आवश्यक ‘एक्सेस’ निर्माण हुन सकेको छैन। यसका लागि अत्याधुनिक वा ठूलो प्रविधि आवश्यक नरहेको उनको दाबी छ। पहिलो दिनदेखि नै तीन–चारवटा एक्स्काभेटर र एउटा ब्रेकर उपलब्ध गराइएको भए उद्धार कार्य यसअघि नै सम्पन्न हुन सक्ने उनले बताएका छन्।

उद्धारका क्रममा तीनवटा एक्स्काभेटर दिनरात सञ्चालन भएको समाचार आए पनि मैदानमा भने एउटा मात्रै एक्स्काभेटर चलेको उनको गुनासो छ। मगरले उद्धारमा भइरहेको ढिलाइले सुरुङभित्र फसेका प्राविधिकका परिवारको चिन्ता र पीडा थप बढिरहेको बताएका छन्। 

आवश्यक उपकरण तत्काल घटनास्थलमा उपलब्ध गराएर उद्धार कार्यलाई सहजीकरण गर्न उनले सरकारसँग आग्रह गरेका छन्। ‘कृपया योभन्दा ढिला नगरिदिनुस्। जे–जे आवश्यक छ, ती सामान साइडमा उपलब्ध गराइदिनुस् र उद्धार कार्यलाई सहजीकरण गरिदिनुस्,’ उनले भनेका छन्।

सुरुङमा फसेकाहरूलाई जतिसक्दो छिटो उद्धार गरी घरमा आफन्तको प्रतीक्षामा रहेका परिवारलाई ढुक्क बनाउन पनि उनले सरकारसँग अपिल गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७