पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुरक्षा मागेको पत्र सार्वजनिक
निवेदन नआएको प्रहरीको दाबी
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको तर्फबाट प्रहरीसँग जिउज्यान तथा परिवारको सुरक्षाको माग गरिएको पत्र सार्वजनिक भएको छ। तर प्रहरीले भने आफूहरूलाई त्यस्तो निवेदन प्राप्त नभएको जनाएको छ।
जबराका छोरा ‘सचिन्द्र शमशेर ज.ब.रा.’को नामबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई सम्बोधन गरिएको निवेदन सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
निवेदनमा जबराको निवास, परिवारका सदस्य तथा उनको जिउज्यानको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन आग्रह गरिएको उल्लेख छ।
२०८३ असोज ११ गतेको मिति रहेको उक्त निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विभिन्न विषयका कारण परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भइरहेको उल्लेख गरिएको छ।
निवेदनमा जबराले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखको हैसियतमा गरेका न्यायिक निर्णयका कारण आफूले थप असुरक्षा महसुस गरेको उल्लेख छ।
त्यसैगरी आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी रहेको भन्दै निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको ध्यान पुग्नुपर्ने माग गरिएको छ।
तर उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोरले जबराले सुरक्षा माग गरेको बेहोराको कुनै निवेदन कार्यालयमा प्राप्त नभएको बताएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले पनि त्यस्तो पत्र आफ्नो कार्यालयमा प्राप्त नभएको बताएका छन्।
यघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘सुरक्षा थ्रेट’को सूचना प्राप्त भएको भन्दै जबरालाई शनिबार मध्यराति निवासबाट नियन्त्रणमा लिएको थियो। उनलाई आइतबार अपराह्न छाडिएको थियो।
जबरालाई नियन्त्रणमा लिनुको आधार र त्यसक्रममा देखिएको सुरक्षा जोखिमबारे स्पष्ट विवरण सार्वजनिक भइरहेका बेला उनको नामबाट सुरक्षा माग गरिएको पत्र सार्वजनिक भएको हो।
यद्यपि पत्रमा उल्लेखित निवेदन सम्बन्धित प्रहरी कार्यालयमा वास्तवमै दर्ता भएको हो वा होइन भन्ने विषयमा भने प्रहरीको भनाइ फरक देखिएको छ।
हेर्नूहोस् पत्रः

.gif)

.png)


