नेपाली सेनाको भूमिकाबारे लघु चलचित्र प्रतियोगिता आयोजना


२०८३ असोज ८ बिहीबार १३:२८ बजे
फाइल फोटो

काठमाडौं : नेपाली सेनाले  ‘लघु चलचित्र प्रतियोगिता–२०८३’ आयोजना गरेको छ। सेनाले आफूले खेलेको भूमिका, जिम्मेवारी तथा विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्यलाई समेटेर प्रतियोगिताको आयोजना गरेको सेनाले जनाएको छ।  

नेपाली सेनाले सञ्चारमाध्यम, संघसंस्था, शैक्षिक संस्था तथा चलचित्रकर्मीलाई खुला विषयवस्तु अवधारणामा आधारित लघु चलचित्र निर्माण गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको हो।  

प्रतियोगिताका लागि १५ देखि २० मिनेटसम्मको लघु चलचित्र निर्माण गर्नुपर्नेछ। पहिलो चरणमा चलचित्रको सारांशसहितको प्रस्ताव पेस गर्नुपर्नेछ। प्रस्तावका लागि आगामी असोज २१ गते प्रस्ताव बुझाउने अन्तिम मिति तोकिएको छ।  

यसअघि तोकिएको समय संशोधन गर्दै म्याद थप गरिएको सेनाले जानकारी दिएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित प्रभावका कारण प्रस्ताव बुझाउने समय थप गरिएको सेनाको सूचनामा उल्लेख छ।  

प्रारम्भिक छनोटमा परेका चलचित्रका लागि स्टोरी बोर्डसहितको सुटिङ स्क्रिप्ट आगामी कात्तिक १६ र १७ गते बुझाउनुपर्नेछ। छनोट भएका स्क्रिप्टलाई मात्र प्रतियोगितामा समावेश गरिनेछ।  

सेनाका अनुसार प्रत्येक छनोट भएको चलचित्रका लागि अधिकतम ६० हजार रुपैयाँसम्म निर्माण सहयोग उपलब्ध गराइनेछ।  

प्रतियोगितामा प्रथम हुने चलचित्रले २ लाख रुपैयाँ, द्वितीयले १ लाख ५० हजार रुपैयाँ र तृतीय हुने चलचित्रले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगिताको नतिजा २०८३ चैतमा सार्वजनिक गरिने छ।  

सेनाले प्रतियोगिताका लागि राष्ट्रिय सेवा, विपद् व्यवस्थापन, उद्धार तथा सेनाले निर्वाह गर्दै आएका अन्य जिम्मेवारीलाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्न सकिने जनाएको छ।  

प्रस्ताव नेपाली सेनाको वेबसाइटमार्फत वा सम्बन्धित निकायमा प्रत्यक्ष उपस्थित भएर बुझाउन सकिनेछ। इमेलमार्फत प्रस्ताव पठाउन चाहनेले सेनाले तोकेको सम्बन्धित जनसम्पर्क तथा सूचना निकायको इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको छ।  

हेर्नूहोस् सूचनाः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७