विपद्पछि उद्धारदेखि सडक मर्मतमा नेपाली सेना
काठमाडौं : बाढीपहिरोका कारण अवरुद्ध भएका सडक, पुल तथा खानेपानीको लाइन मर्मत गरी आवागमन र सेवा सुचारु गर्न नेपाली सेना परिचालन भएको छ।
यसैक्रममा सेनाले कालीगण्डकी नदीको तटीय तथा आसपासका क्षेत्रमा पहिरोका कारण जोखिममा परेका बस्तीलाई हवाई साधनमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै राहत सामग्री ढुवानी र अवरुद्ध सञ्चार सेवा पुनःस्थापनामा समेत सरोकारवाला निकायसँग समन्वय गरी काम गरिरहेको छ।
.jpeg)
यस्तै म्याग्दीमा पहिरोका कारण आनन्दबगर हुँदै लामागरा जाने सडक अवरुद्ध भएपछि नेपाली सेनाको गुरु गोरख गुल्मबाट खटिएको टोलीले असोज १८ गते सडक खुलाएको छ।
त्यसैदिन म्याग्दीको बेनी नगरपालिका–६, कुडुलेमा स्थानीयवासीसँगको सहकार्यमा पहिरोका कारण अवरुद्ध खानेपानीको लाइनसमेत मर्मत गरी सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ।
सडक डिभिजनसँगको समन्वयमा मालढुंगा पुलको मर्मत कार्यमा पनि सेना परिचालन भएको छ। पर्वत, म्याग्दी र बागलुङमा पहिरोका कारण अवरुद्ध सडक तथा पुल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सुरक्षा निकायसँगको समन्वयमा काम भइरहेको छ।
.jpeg)
यसैगरी मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङ जाने बाटोमा पर्ने ठाडो खोलाको पुल बाढीले बगाएपछि नेपाली सेनाले अस्थायी पुल निर्माण गरेको छ।
नयाँ भैरवी दल गुल्मबाट खटिएको सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँगको सहकार्यमा अस्थायी पुल निर्माण गरी उक्त स्थानमा आवागमन सुचारु गरेको छ।
बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधार मर्मतसँगै जोखिममा रहेका बस्तीको उद्धार, राहत तथा सञ्चार र यातायात सेवा पुनःस्थापनालाई सेनाले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.gif)

.png)


