बेलायतको क्याम्ब्रियन पेट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौं : नेपाली सेनाले बेलायतमा आयोजित अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ मा स्वर्ण पदक जितेको छ । यससँगै नेपाली सेनाले उक्त प्रतियोगितामा पाँचौँ पटक स्वर्ण पदक हासिल गरेको हो ।
बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २१ र २२ गते सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा प्रतियोगिताका पदक वितरण गरिएको थियो ।
प्रतियोगितामा बेलायतसहित ३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी भएका थिए । सन् १९६० देखि हरेक वर्ष आयोजना हुँदै आएको यस अभ्यासमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ ।
प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरका उपकरण बोकेर दुई दिनभित्र ४० माइल दूरी पार गर्नुपर्ने हुन्छ । यस क्रममा हतियार सञ्चालन, सूचना संकलन, घाइते तथा बिरामीको व्यवस्थापनलगायत विभिन्न सैनिक सीप र क्षमताको परीक्षण गरिन्छ ।
नेपाली सेनाले यसअघि सन् २०१७, २०१९, २०२४ र २०२५ मा पनि यस प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । सन् २०२६ मा प्राप्त स्वर्णसँगै प्रतियोगितामा नेपाली सेनाको स्वर्ण पदक संख्या पाँच पुगेको छ ।

.gif)

.png)


