गुण्डुमा थपलिया बेहोस भएपछि योगेशको टिप्पणी : नेतानिवास भरोसा र विश्वासका केन्द्र बन्नुपर्छ
काठमाडौं : नेकपा (एमाले) का नेता योगेश भट्टराईले पार्टी कार्यालय र नेताका निवासहरू दुःखसुख साट्ने, विश्वास र भरोसाका केन्द्र बन्नुपर्ने बताएका छन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन) सोमबार मध्यराति केपी शर्मा ओलीको निवास गुण्डुमा ढलेको घटनातर्फ संकेत गर्दै भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
‘पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरू दुःख साट्ने, सुख बाँड्ने, प्रेमिल अनि भरोसा र विश्वासका केन्द्र बन्न सक्नुपर्छ। जहाँ पारिवारिक र कमरेडली वातावरणमा छलफल हुन सकोस्,’ उनले लेखेका छन्, ‘नत्र दुःख पर्दा जाने कहाँ?’
मुख्यमन्त्री चयनको विषयमा एमाले अध्यक्ष ओलीसँग दबाबपूर्ण छलफल चलिरहेका बेला थपलिया सोमबार मध्यराति गुण्डुस्थित ओली निवासमै ढलेका थिए।
उक्त छलफलमा सहभागी नेताहरूले ओलीले मुख्यमन्त्री चयनको विषयमा अनावश्यक दबाब बढाएको बताएका छन्। सोही दबाबका कारण थपलिया ढलेको दाबीसमेत केही नेताहरूले गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो।
.gif)

.png)

