मोरङका एसपी कटवालसँग २४ घन्टे स्पष्टीकरण
काठमाडौं : विराटनगरका प्रतिष्ठित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा करिब पाँच घण्टा खानतलासी गर्दा कुनै प्रमाण फेला नपरेको प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग स्पष्टीकरण माग गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले एसपी कटवाललाई २४ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिँदै ९ बुँदे स्पष्टीकरण सोधेको हो । प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले हस्ताक्षर गरेको पत्रमा जिम्मेवारी निर्वाहमा लापरबाही, अधिकारको अनुचित प्रयोग, निर्णय प्रक्रियामा देखिएको त्रुटि र व्यावसायिक आचरणलगायत विषयमा स्पष्ट पार्न भनिएको छ ।
हेडक्वार्टरले मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाका आधारमा गरिएको हो भन्दै प्रश्न उठाएको छ । त्यस्तै, खानतलासीका क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा समेत जवाफ मागिएको स्रोतले जनाएको छ ।
व्यवसायी मुन्दडाको घरमा प्रहरीले छापा मारे पनि कुनै सामग्री वा प्रमाण फेला नपरेपछि मोरङ प्रहरीले विज्ञप्ति जारी गरेको थियो । पर्याप्त आधारबिना छापा मारेर व्यवसायीलाई त्रसित बनाएको भन्दै प्रहरीको आलोचना भएपछि प्रदेश प्रहरी कार्यालयले घटनाबारे स्पष्टीकरण मागेको हो । ९ बुँदे स्पष्टीकरणको जवाफ एसपी कटवालले २४ घण्टाभित्र पेस गर्नुपर्नेछ ।
.gif)

.png)

