ओलीबाट फेरि लखेटिए योगेश भट्टराई
‘बेरोजगार’ बनाउने गरी कार्यविभाजन प्रस्ताव
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव योगेश भट्टराईलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन गरेका छन् । अध्यक्ष ओलीले सचिवालय बैठकमा पेस गरेको नयाँ कार्यविभाजनको खाकामा भट्टराईलाई बेरोजगार बनाउने गरी प्रस्ताव ल्याएका हुन् ।
गत सोमबारको सचिवालय बैठकमा प्रस्तुत र भोलि शुक्रबार अनुमोदन गर्ने तयारी गरिएको प्रस्तावमा भट्टराईलाई केवल ‘नीति तथा योजना सम्बद्ध विभाग’ को संयोजनको जिम्मेवारी प्रस्ताव गरिएको छ । ताकी त्यही नीति तथा योजना विभागको प्रमुख भने अर्का उपमहासचिव लेखराज भट्टलाई बनाइएको छ । यसअघि एमालेमा उपमहासचिवहरूलाई संगठन, स्कुल वा प्रचार जस्ता विभाग दिने गरिन्थ्यो ।
ओलीले यसपटक आफ्ना पुराना र कट्टर विश्वासपात्र भानुभक्त ढकाललाई पार्टीको सबैभन्दा शक्तिशाली मानिने ‘संगठन विभाग’ को कमान्ड सुम्पिने प्रस्ताव गरेका छन्।
गत महाधिवेशनबाट सचिव चुनिएका ढकाल यसअघि जनसंगठन समन्वय संयन्त्रको प्रमुख रहँदा विवादित बनेका थिए। तर, नेतृत्वको खल्तीको मान्छे भएकै कारण उनलाई दण्डित गर्नुको साटो पुरस्कार स्वरूप संगठन विभागको साँचो सुम्पन लागिएको बुझिएको छ। ढकालले सम्हाल्दै आएको जनसंगठन समन्वय संयन्त्रको शक्तिशाली कमान्ड भने विशाल भट्टराईलाई दिने प्रस्ताव छ ।
‘विदेश मामिला विभाग’ को प्रमुखमा प्रदीप ज्ञवालीलाई अघि सारिएको छ । एमालेको इतिहासमा यो विभाग विगतमा माधवकुमार नेपाल, झलनाथ खनाल र स्वयं केपी शर्मा ओली जस्ता शीर्ष नेताहरूले सम्हाल्ने गरेका थिए ।
अर्को महत्त्वपूर्ण मानिने ‘पार्टी स्कुल विभाग’ को प्रमुखको जिम्मेवारी पूर्वमन्त्री शेरबहादुर तामाङलाई दिइने भएको छ, जसले पार्टीभित्रको वैचारिक र सैद्धान्तिक प्रशिक्षणको नेतृत्व गर्नेछन्।
नयाँ कार्यविभाजनमा युवा र विद्यार्थी मोर्चामा पनि ओली गुटकै नेताहरूको एकलौटी वर्चस्व देखिएको छ। राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा क्षितिज थेबे र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुं को इन्चार्जमा रश्मी आचार्यलाई तोक्ने प्रस्ताव गरिएको छ। यसै गरी, पार्टीको ‘निर्वाचन विभाग’ प्रमुखमा निरज आचार्य र ‘प्रचार तथा प्रकाशन विभाग’ को प्रमुखमा डा. सूर्यप्रसाद पाठकलाई ल्याउने तयारी छ।
.gif)

.png)

