थप ३९ म्यानपावरमाथि कारबाही
विदेशी विमानस्थलबाट श्रमिक पठाउने म्यानपावरमाथि कारबाही
काठमाडौं : वैदेशिक रोजगार विभागको स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने थप ३९ वटा म्यानपावर कम्पनी कारबाहीमा परेका छन्।
विभागले बुधबार सूचना जारी गर्दै स्वीकृति नलिई विदेशी विमानस्थल प्रयोग गरेर श्रमिक पठाएको भन्दै ती म्यानपावरलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरेको जनाएको छ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्था कार्यान्वयन भए/नभएको विषयमा अनुगमन गर्न विभागले २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको उडान विवरण माग गरेको थियो।
विभागका अनुसार विवरण नदिएका तथा अनुमति नलिई विदेशी विमानस्थल प्रयोग गरेका गरी कुल ५९८ वटा म्यानपावर कम्पनी कारबाही प्रक्रियामा परेका छन्।
यसअघि विभागले विवरण पेश गर्न निर्देशन दिएको थियो। सोही क्रममा विवरण बुझाएका तर स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाएका ३९ वटा म्यानपावरलाई कारबाही गरिएको हो।
यस्तै, दुई पटकसम्म निर्देशन दिँदा पनि विवरण पेश नगर्ने १२४ वटा म्यानपावर कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना किन नगर्ने भन्दै सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।
विभागले कारबाहीमा परेका ३९ संस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम कसुर दोहोर्याएको ठहर गर्दै जनही ५० हजार रुपैयाँ जरिबाना गरेको जनाएको छ।
.gif)

.png)

